काठमाडौं,६ कात्तिक । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा काग सम्मेलन गरिएको छ । काग तिहारका अवसरमा ग्रिन सिटी अस्पताल बसुन्धराको आयोजनामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो ।
सम्मेलनमा १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्ने प्रयास गरेका थिए । तर यसपटक अघिल्ला वर्षहरूकाे जस्ताे धेरै काग भेला पार्न नसकिएकाे उनले बताए ।
आवाज धेरै टाढासम्म पुग्न नसकेका कारण साेचेजति काग भेला पार्न नसकिएकाे उनले बताए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । आजका दिन यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर काग तिहार मनाउने प्रचलन छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भन्दै कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिएर खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । शिलापत्र बाट



















