काठमाडौं,१६ कात्तिक  । अमेरिकी गायन रियालिटी शो 'द भ्वाइस' को नकआउट राउण्डमा नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले  जितेकी छन्।

कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका भालारी हार्डिङ र पेटन एल्ड्रिजलाई हराउँदै उनले नकआउट राउण्ड जितेकी हुन्।

परिजिताले नकआउट राउण्डमा एट्टा जेम्सको ‘आई वुड र्‍यादर गो ब्लाइन्ड’ बोलको गीत गाएकी थिइन्। राम्रो प्रस्तुति दिएको भन्दै कोच जोनले तीन जनामध्ये उनलाई छनोट गरेका हुन्।

परिजिताले ब्याटल राउण्डदेखि नै कोचहरूको मन जितिरहेकी छन्। सानो उमेरमै राम्रो प्रस्तुति दिन सक्ने भन्दै कोचहरूले उनको तारिफ गरिरहेका छन्। 

उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् भने ब्याटल राउण्डमा द मेरिलाइन्ड अन द बी गीजका दुई युवतीसँग डुअल प्रस्तुति दिएका थिए। उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिए। जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी थिइन्। गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।