कतार,४ पुस । अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । लुसेल रंगशालामा भएको रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो । यो जितसँगै लियोनल मेस्सीको विश्वकप उपाधि जित्ने सपना पूरा भएको छ ।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । यसअघि उसले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । खेलमा फ्रान्सेली एम्बाप्पेले ह्याट्रिक गरे पनि टोलीलाई काम लागेन भने अर्कोतर्फ लियोनल मेस्सीले दुई गोल गर्दै अर्जेन्टिनाको जितका नायक बने । हेर्ने हो भने फाइनल खेल निकै रोमान्चक ढंगले सकिएको थियो ।
निर्धारित समयसम्म दुवै टोली २–२ गोलको बराबरीमा रहेपछि खेल १५–१५ मिनेटको दुई अतिरिक्त समयमा भएको थियो जहाँ लियोनल मेस्सी र केलियन एमबाप्पेले एक–एक गोल गरे । यसरी खेल फेरि ३–३ गोलको बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुईवटा बचाउ गर्दै अर्जेन्टिनाको जितको इतिहास पूरा गरे ।
यस्तो छ पेनाल्टी सुटआउट :
फ्रान्स - केलियन एमबाप्पे (गोल)
अर्जेन्टिना - लियोनल मेस्सी (गोल)
फ्रान्स- किंग्सले कोमन (मिस)
अर्जेन्टिना – पाउलो डिबाला (गोल)
फ्रान्स - एयुरेलियन टी. (मिस)
अर्जेन्टिना - लिआन्ड्रो परेडेस (गोल)
फ्रान्स - रान्डर कोलो मुआनी (गोल)
अर्जेन्टिना - गोन्जालो मोन्टिएल (गोल)




















