एजेन्सी । आइतबार पोल्याण्डबाट ग्रीसका लागि उडेको रायनएयरको विमानमा बम भेटिएको समाचार आएको छ । ग्रीसको रक्षा मन्त्रालयको एक स्रोतले समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।
विमानमा बम भेटिएको सूचना चालक दललाई तुरन्तै जानकारी गराएपछि उक्त विमानलाई एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।
चालक दलका सदस्यसहित १९० जना भन्दा बढी यात्रु बोकेर उडेको विमानमा बम रहेको सुचना प्राप्त भएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । विमानको सुरक्षा गर्न ग्रीक युद्धक विमानहरू तैनाथ गरिएको थियो।
विमानबाट यात्रुहरूलाई सकुशल बाहिर निकालिएको ग्रीसका प्रहरी प्रवक्ता कन्स्टान्शिया डेमोग्लिडोले जानकारी दिएका छन् । विमानमा बम कसरी आयो भन्ने विस्तृत अनुसन्धानपछि मात्रै विमानलाई थप उडान गर्न दिइने स्रोतले जनाएको छ ।




















