एमाले ( साँचो एमाले ) प्रति झुकाव राख्नु हुने मेरो एकजना प्रिय सरले मलाइ मेसेज गर्दै लेख्नु भयो “ तपाईहरु जस्ता केही सीमित मानिसहरुले माधव नेपालको कमजोरी छोपि दिँदा उहाँमा एमाले प्रमुख हुन् नपाएको कुण्ठा बढ्दै गयो र पार्टी विभाजन हुँदै अहिले पनि एमाले लाई सकाउन क्रियाशील हुन् प्रेरित गरिरह्यो ।” यो उहाँले लगाएको आरोप भन्दा पनि उहाँ जस्तो राम्रो मान्छेको मनमा रहेको साँचो एमाले प्रेम हो भन्ने ठान्छु म ।
यद्धपि माधव नेपालले सहेको भए एमाले फुटने थिएन कि भन्ने ठानेर एमाले विभाजनमा माधवलाइ दोषी देख्दै आज केपी ओली र बामाले प्रवृति हेरेर हैन उनै माधव नेपालले बनाएको र जोगाएको एमालेको मायाले बामाले भैसकेको भए पनि नामको एमालेमै रहनु हुने धेरैले मलाइ त्यस आसयका मेसेज गर्नु हुन्छ ।
म उहाँहरुको असलियत र एमाले प्रेमको सम्मान गर्छु अनि भावनाको कदर गर्छु तर म भन्छु कि नेकपा विभाजन हुँदै एमाले विभाजनसम्ममा उहाँहरुको बुझाइ र दोषारोपण गलत छ । उहाँहरुको निष्कर्ष गलत छ भन्ने पुष्टि गर्ने मेरो निम्न तर्क छन :
१. तत्कालिन नेकपा हुँदा केपी ओलीले विगत एमाले रहँदाको आफ्नो कुण्ठा पोख्न प्रचण्ड संग मिलेर माधव नेपाल र वहाँका भनिएकाहरुलाइ हेप्ने , पेल्ने र दुख दिने गर्नु भएको कतिवटा दृष्टान्त चाहिन्छ म दिन्छु । जव प्रचण्डले केपीको उपयोगको नीति बुझे तव उनले बाटो बदलेका हुन तर त्यति हुँदा हुँदै पनि माधव नेपाल र तत्कालिन अवस्थामा वहाँकै समुहमा रहनेहरुको जोडमा हो स्थायी समितिले केपी र प्रचण्डको आधा आधाको सहमतिको वार्खिलाफ हुने गरेर केपीलाइ पाँच वर्ष सरकार चलाउन दिने निर्णय गर्न सफल भएको । तर सारा प्रामाणित गुण भुलेर खै के कति कारण हो केपी ओली माधव नेपाल विरुद्ध लागेको लाग्यै गर्नु भयो । अरु त अरु जनआन्दोलन २०६२/२०६३ मा उचित भूमिका नखेलेको भन्दै केपी ओलीलाइ कारवाही गर्नुपर्छ भन्ने आफ्नै विश्वासपात्रहरुको मागको खिलाफमा गएर केपी ओलीको राजनीति जोगाउन तत्कालिन गिरिजा कोइराला सरकारमा एमालेको तर्फ बाट नेतृत्व गर्ने अवसर माधव नेपालले नदिनु भएको भए यो राजनितीक यात्रा तय हुने थिएन भन्ने सत्य समेत केपीले भुलेको तथ्यलाइ इन्कार कसैले गर्न सक्छ ?
२. तत्कालिन नेकपा पार्टी र त्यसको सरकार हुँदा माधव नेपालले भनेको वा मागेको भनेको पार्टीको वैठक प्रति उत्तरदायी अध्यक्ष अनि देश र जनताको मुद्दामा संवाद , सहकार्य र समन्वय हैन ? माधव नेपाललाइ अध्यक्ष हुनुस भन्दा मान्नु भएन भनेर केपी ओली स्वयमले भनेको कुरा भुलेर माधव नेपालले नेतृत्व नपाएको कुण्ठा भनेर भन्न अलिक असहज लाग्दैन ?
३. नेकपाको विभाजन होस वा एमालेको विभाजन होस त्यो दुवै केपी ओलीले असंवैधानिक ढंगले गर्नु भएको संसद विगठनका कारणले भएका हैनन ? अनि के माधव नेपालले अलोकतान्त्रिक असंवैधानिक क्रियाकलाप पनि सहनु पर्थ्यो ? आफुले जे व्यवस्थाको लागि लडन भनेर भएको जागिर छोडेर जिवनको वलिदानी गर्न तयार भएर हिडनु भएको थियो माधव नेपाल वहाँले त्यही व्यवस्था धरापमा परेको सहनु पर्थ्यो ? वा आफु समाप्त हुन तयार भएर तय भएको विधि बाट बनेको गणतान्त्रिक संविधानको मुल्य र मान्यता ध्वस्त भएको सहनु पर्थ्यो ? अनि पर्थ्यो भने पनि के का लागि प्राइभेट लिमिटेड बन्दै गएको पार्टीको कथित एकताको लागि ? जवाफ छ ?
४. जव केपी ओलीको दम्भ अहंकार र अधिनायकी सोच अनुसारका काम परास्त भएर उहाँ बार्दली पुग्नु भयो तव उहाँले माधव नेपाललाइ समाप्त पार्न संसद देखि अदालतसम्म के कति गर्नु भयो ? गालीका , कुसंस्कारका कति धेरै अभ्यास वहाँले गर्नु भयो ? त्यति मात्रै हैन गएको चुनावमा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने पो हो कि भन्ने देखिँदै गर्दा निर्वाचनकै विश्वसनीयता सवाल हुने गरेर वक्तव्य निकाल्नु भयो । ति काम के को लागि गर्नु भयो भनेर कोहि कसैले चुँ सम्म गर्यो ? गरेन । जसले गर्दा केपी चाहिं थप उन्मत्त हुँदै गएका हैनन ?
५. त्यति मात्रै हो र निर्वाचन सक्किएर मिसन १५० भनेको अहंकार ध्वस्त भएर थन्किए पछि हतार हतार बधाई छ भन्दै प्रचण्डलाइ चाकरी गर्ने केपी ओलीले माधव नेपाललाइ बधाई दिन समेत कन्जुसी गरेको हैन ? अनि जव पुरानो गठबन्धन भत्काएर प्रचण्ड नया गठबन्धन बनाउन बालकोट हुत्तिन लाग्दा खवरदार माधव नेपाललाइ ल्याउलास भनेर तर्साएको नहोलान भन्ने गलत बुझाइ कोहि कसैमा होला ? अनि त्यति हुँदाहुँदै पनि दोषी माधव नेपाल ?
६. अनि यो सबैका अलावा माधव नेपालले विभिन्न अन्तर्वार्ताहरुमा एमालेले एकता र संवादको निम्ती अग्रसरता नदेखाएको प्रष्ट कुरा राखेको विषयले वहाँमा संवाद सहकार्य र एकताको चाहना छ भन्ने पुष्टि गर्दैन ? एमालेका कैयौं नेता कार्यकर्ताहरुले वहाँलाइ एकतामा लचिलो हुन अनुरोध गरेको हुनाले पनि वहाँले पछिल्ला दिनहरुमा केपी ओलीलाइ आवश्यक पर्दा पनि गाली नगरेको तथ्य प्रति कोहि एमालेहरुको ध्यान गएको छ ?
७. थाहाछैन भविष्यले बाटो कता लाने हो तर म यति जरुर भन्न सक्छु कि बामाले भैसकेको एमालेमा रहेका असली एमालेहरुले माधव नेपाललाइ जे जति सम्मान र माया गर्छन माधव नेपालले पनि त्यतिनै माया उनीहरुलाइ गर्नु हुन्छ ।
अत; असली एमालेहरुलाइ सम्मान सहित यति भनौं कि एमाले र माधव नेपाल पर्याय कुरा हो तसर्थ न माधव नेपाल एमाले विरोधी हुन सक्नु हुन्छ न एमाले माधव नेपाल विरोधी हुन सक्छ । त्यसैले आफैंले बनाएको हुर्काएको र जोगाएको एमाले प्रति माधव नेपालले न्याय गर्नु भएन वा गर्नु हुन्न भन्ने ठान्न छोडेर एमालेलाइ बामाले बनाउने को हुन र त्यसो किन गरे भनेर खोजि गर्न अनुरोध गर्छु ।
साथै यो पनि ठोकुवा साथ भन्छु कि यदी एमाले एमाले जस्तो हुन तयार हुने हो भने अर्थात लोकतन्त्र र संवैधानिक सर्वोच्चता प्रति व्यवाहारिक रुपमा प्रतिवद्ध अनि पार्टीलाइ कमिटि प्रणालीमा चलाउन दृढ हुने हो भने माधव नेपाललाइ एमालेको आदरणीय नेता बन्न तयार हुन हामी जस्तो बबुरोले त के दुनियाको कुनै तागतले रोक्न सक्दैन । तर यो त्यति सहज छैन किन कि त्यसो हुन एमाले बिगारेर बामाले बनाउने मसिहा केपी ओलीले अहंकार दम्भ र घमण्डको घोडा बाट उत्रन तयार रहनु पर्छ । कोहि कसैले मानुन वा नमानुन तर सत्य के हो भने केपी ओलीले दम्भ त्यागेको पाँच मिनेटमा एमाले एकताको सपना पुरा हुन्छ । यो मेरो ठहर हो , कोहि कसैले सके मलाई गलत सावित गरे हुन्छ ।


















