- ✍️ देउजा राधाकृष्ण
हिजो अचानक हल्ला चल्यो कि बामालेका 'बा' केपी ओलीले बामाले मोह त्याग्दै एमाले एकता गर्ने संकेत दिनु भयो रे । त्यसै अनुसार नेकपा एमाले जन्माउने हुर्काउने र अप्ठेरोमा जोगाउने काम गरेर केपी ओलीलाइ त्यसको अध्यक्ष बन्ने बाटो समेत निर्माण गर्ने माधव नेपाल सँग हालका बामालेका 'बा' ले भेटघाट र छलफल समेत गर्नु भयो रे भन्ने पनि आएको छ ।
बामालेको चेपुवामा पर्दा पर्दै पनि एमाले नामको पार्टी छोडन नसकेकोले बामाले भैसकेको एमालेमा रहनु हुने तमाम असली एमालेहरुले माधव नेपाल सहितको एमाले मात्रै पूर्ण एमाले हुन्छ भन्ने ठानेर त्यसलाइ एकतावद्ध बनाउने कोशिस सदैव गर्दै आउनु भएको छ र त्यस दौरान चुनौतीको सामना गर्न तयार भएर पनि माधव नेपाल संग भेटदै आउनु भएको त सुनेको मात्रै हैन थाहा नै पाएको छु ।
तर बामालेको बा स्वयंले दम्भ र अहँकारको घोडा बाट उत्रेर माधव नेपाललाइ भेटेको हो भने त्यो राम्रो कुरा भयो । माधव नेपालले त संवाद सहकार्यलाइ सदैव मूल मन्त्र बनाउँदै आउनु भएकै छ । वाहिर जे जति भनिए पनि माधव नेपालले फगत् आफ्ना लागि कुनै पदको ग्यारेण्टी हुने बित्तिकै विचार नीति सिद्धान्त र आचरणमा शुद्धताको एजेण्डा पक्कै छोडनु हुनेछैन भन्नेमा मेरो मनमा एकरति दुविधा छैन ।
यो पनि पढ्नुहोस - केपी ओली र माधव नेपालबीच ४ घण्टा लामो गोप्य वार्ता
त्यसैले तमाम एमालेहरुको ( बामाले हैन एमाले ) चाहना अनुसारको एकतामा साँच्चै अगाडी बढ्दा त्यसले वहाँहरु दुइ लाइ मात्रै हैन सिंगो पार्टी , आन्दोलन र देशलाइ नै पनि राम्रै होला । तर म स्वयमलाइ चाहिं केपी ओलीले असली एमालेको चरित्र भएको पार्टी फर्काउन तयार हुनुहुन्छ भन्ने नै लाग्दैन । किन ? किन भने असली एमाले भनेको त सुसंस्कार भएका , लोकतन्त्र र संवैधानिक सर्वोच्चता प्रति प्रतिवद्ध , स्वच्छता सरलता र इमान्दारिताको पर्यायहरु हुन तर केपी ओलले विस्तार विस्तार असली एमालेका गुणलाइ तिलान्जली दिंदै गैसक्नु भएको छ ।
अनि विस्तारै गुमाउंदै जानु भएका असल गुणहरु एकाएक फेरी ग्रहण होला भनेर कसरि मान्ने ? वहाँ कतिसम्म हुनु भएको छ भन्ने बुझ्न वहाँलाइ दुर्गा प्रसाईको बारेमा सवाल गरिंदा वहाँले दिनु भएको उत्तर नै काफी छ । आफु बा प्रवृतिको मसिहा भएको हुँदा होला वहाँलाइ हजुरबा भन्ने झापाका एक व्यवसायी दुर्गा प्रसाईलाइ उहाँले केन्द्रिय सदस्य बनाउनु भएको थियो । तिनको एमाले संग न कुनै साइनो थियो न सम्वन्ध , उनि व्यापार व्यवसाय गर्ने व्यक्ति थिए त्यसैले उनि कहिले माओवादी त कहिले एमाले अनि अब अहिले कडा राजावादी भएका छन ।
अनि जव केपी ओलीका ति नाति दुर्गा प्रसाईं भूतपूर्व भैसकेका राजालाइ महाराजधिरज भनेर उकास्नेमा लागे तव पत्रकारले अव के गर्नु हुन्छ नाति प्रसाईलाइ भनेर सोध्दा वहाँले भन्नु भएछ “ दुर्गा प्रसाई मात्रै किन भिम रावल पनि कराउंदै हिड्नु भएको छ ।” वहाँको त्यो भनाइ सुन्दै गर्दा लाग्यो कि केपी ओली कति कम्जोर , कति विचलित र निकृष्ट हुनु भएछ ।
आफ्नो जीवन देश र जनताको लागि सुम्पिएर आन्दोलनमा लागेर अनेकन आरोह अवरोह पार गर्दै आउनु भएको नेता भिम रावल र केवल केपी ओलीलाइ हजुरबा भनेकोले सौराहा काण्ड मार्फत केन्द्रिय सदस्य पाउने दुर्गा प्रसाईलाइ तुलना गर्न तपाईंलाइ थोरै पनि असहज लागेन श्रद्धय केपी ओलीज्यु ? नेपालको राष्ट्रियता र जनताको हितको लागि एक्लै लडीरहेको भिम रावललाइ तपाईंले दिनु भएको अपमान , तपाईंले गर्नु भएको अन्यायलाइ नेपाली जनताले कति गम्भीरताका साथ लिएका छन ? त्यसको लेखाजोखा छ ? सायद तपाईं संग छैन होला तर माधव नेपालहरुलाइ लखेटेर सुरु गर्दै घनश्याम भुषाल अनि भिम रावल सम्मलाइ लखेटने तपाइँको यात्रामा अरु कोहि हैन तपाइँ मात्रै कम्जोर बन्नु भएको छ केपी ओलीज्यु ।
बेलैमा सच्चिनुस , सुध्रिनुस सक्नु हुन्न भने पनि थप नबिग्रिनुस । कमसेकम पनि भिम रावलको तुलना दुर्गा प्रसाईं संग चाहिं नगर्नुस । यति बुझ्नुस कि देशभरक जनताले मत हालेर तपाईं र भिम रावल मध्य एक छान्नु परेमा आजको मितिमा भिम रावललाइ नै छान्छन , तपाईंलाइ अप्रिय लाग्ला तर सत्य यही नै हो ।



















