• ✍️ देउजा राधाकृष्ण 

एमाले भनिने बामालेहरुले अक्सर असली एमालेको निर्माण र विकासका पर्याय माधव नेपाललाइ लगाउने आरोप भनेको उहाँको नेतृत्व समयमा पार्टीमा अडान थिएन भन्ने हो । तर उहाँहरुले भुलेको वा सम्झन नचाहेको एउटा सत्य के हो भने माधव नेपाल व्यक्तिगत जिम्मेवारी सामुहिक नेतृत्वमा विश्वास गर्ने नेता हुनुहुन्छ भने वहाँ बहुमतले गरेको निर्णय मन नपरे पनि स्वीकार्दै कार्यान्वयन गर्न दत्तचित्त हुने नेता हुनुहुन्छ । 

उहाँ एमाले हुँदा पनि त्यही नै गर्नु हुन्थ्यो त्यसैले त्यस समयमा भए गरेका कतिपय निर्णय उहाँको चाहना भन्दा पनि पार्टीको नेतृत्वदायी कमिटिको वहुमतको निर्णयमा आधारित हुन्थ्यो । अनि नलुकेको तथ्य के भने अक्सर एमालेको गुण नझल्कने एमाले निर्णयमा प्रमुख भूमिका एमालेका तत्कालिन स्थायी समिति सदस्य केपी ओलीको रहन्थ्यो । 

मोहमद मोहसिनलाइ राष्ट्रियसभा अध्यक्ष , लोकेन्द्र चन्दलाइ प्रधानमन्त्री यस्तै यस्तै धेरै निर्णय केपी ओलीको वाकपटुतामा मक्ख केन्द्रिय नेताहरुको मुडमा आधारित भएर भएका  हुन । खासमा सत्ता बिहिन रहन सकिन्न भन्ने भाष्य निर्माणमा केपी ओलीको ठुलो भूमिका छ । जे जसरि पनि सत्तामा पुग्न पर्छ र  पुगेपछि टिक्न पर्छ भन्ने वहाँको नीति त अहिले पनि जारि नै छ । 

त्यसैले पुस १० गते त जे जस्ता कथित सहमतिमा सरकार बन्यो त्यो सहमतिको प्रतिस्थापन मात्रै हैन त्यसलाइ विस्थापन नै गर्दै नया सहमति बनिसक्दा पनि  वहाँ चाहिं पुस १० सम्झदै सरकारमा लिसो लागेर बसिरहने निर्णय गरेर बस्नु भएको छ । विचरा राजेन्द्र लिङ्ग्देन र उनको दलका मन्त्रीहरुले  बरु सरकार छोडने निर्णय गरेर राजीनामा बुझाइसके तर केपी ओलीका मन्त्रीहरु अझै सरकारमा बसिरहने भएका छन । लाग्दैछ राष्ट्रपति पदमा रामचन्द्र पौडेल विजय भैसकेपछि त झन उहाँहरुले सत्ता छोडनु हुनेछैन किन कि  त्यसो गर्दा कथित पुस १० को सहमति भन्दै केहि मान्छे मन्त्री भैराख्न पाए अनि  फेरी साँढे दुइ बर्ष पछि त्यही कथित सहमतिको राग अलापाईकै आधारमा प्रधानमन्त्री दावी पनि गर्न पाइयो । 

केपी ओलीको यो र यस्तै निर्णय त स्वाभाविक नै हुन किन कि वहाँले त गर्ने यस्तै हो । मलाइ चिन्ता चाहिं बामाले भैसकेको एमाले भित्रका तमाम असल एमालेहरुको लाग्छ जो आफ्नो इतिहास , आफुले बुझेको राजनीति र आफ्नो सामाजिक परिचय संग कहीं कतै मेल नखाने ढंगका बामाले निर्णयहरु स्विकार्न मात्रै हैन त्यस्ता लज्जास्पद निर्णयको प्रतिरक्षा गर्न समेत बाध्य छन ।