पथरी,१८ फागुन । मोरङको पथरीशनिश्चरेस्थित भूपू सैनिक अङ्ग्रेजी स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाएको छ।
पथरीशनिश्चरे -१ मा रहेको सो स्कुलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा तथा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य डाक्टर सुनिल शर्माले आफूलाई अत्याधिक मत दिई जिताउने मतदातालाई आभार प्रकट गर्दै आफअंले चुनावताका दिएको वचन पुरा गर्ने बताएका छन्।
शर्माले ५० औं वर्षदेखि जकडिएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानका निम्ति सदनमा आफूले आफ्नो तर्फबाट आवाज उठाएको भन्दै आफू अनवरत रूपमा लागि रहेको उल्लेख गरे।
चुनावमा आफुले बोलेको कुराहरु संसदीय कोष, आफु , आफ्नो पार्टी, साथीहरु लगायतबाट पुरा गर्ने वचनबद्धता जनाएका थिए।
सार्वजनिक शैक्षिक गुठीको रूपमा पथरीशनिश्चरे-१ मा स्थापित सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर रानाले अध्यक्षता गरेको उक्त कार्यक्रममा पहिलो संविधानसभाका सभासद् चण्डीप्रसाद राई,मोरङ क्षेत्र नं ३ 'क'का कोशी प्रदेश सांसद् मान बहादुर लिम्बु, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, सेनानी थलाहा ब्यारेक, मोरङका प्रमुख अमृत थापा मगर,इ.पि. सेन्टर पुर्वी पृतना इटहरीका प्रमुख ध्रुव दाहाल,भारतीय दुतावास, पेन्सन पेइङ अफिस धरानका मेजर भरत कनौजिया, प्याब्सन कोशी प्रदेशका सह सचिव समेत रहेका वाल्मीकि अंग्रेजी माध्यमिक विद्यालयका निर्देशक नबोल किशोर खनाल, प्याब्सन केन्द्रिय कार्यसमितिका केन्द्रीय सदस्य केदार खनाल,इलाका प्रहरी कार्यलय पथरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक लक्ष्मी भण्डारी लगायतका अतिथिहरूको उपस्थिति थियो।
वि .सं .२०६७ का एस. एल. सी. ब्याच उत्तिर्ण विद्यार्थीहरूले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको उपलक्ष्यमा आफूले अध्ययन गरेको "विद्यालयको फोटो' " मायाको चिनो स्वरुप प्रदान गरेका थिए। सोहि क्रममा विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेलले पथरीशनिश्चरे नगर पालिकामा रही खोजमूलक पुस्तकहरू प्रकाशन गर्नु हुने लेखक दिपेन्द्र राज तिमल्सिना, शैक्षिक अभियान्ता भुवनेश्वर पोख्रेल, विद्यालयका १४ जना गुठीयार तथा सामाजिक व्यक्तित्वहरूलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पूर्व शिक्षक तथा कर्मचारीहरू समेत पुरस्कृत रहेको कार्यक्रममा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीले विभिन्न राष्ट्रिय तथा विविध संस्कृति झल्किने गायन, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।
प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
मोरङ पथरीशनिश्चरे–९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुद कार्यक्रम एवं फुड फेस्टिबल (खाद्यान्न दिवस) को आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।
पाक शिक्षा अन्तरगत फुड फेस्टिवलमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।
स्कुलले शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । त्यस्तै विद्यालय प्रथम हुने छात्रछात्रालाई पुरस्कार र प्रसंसापत्र प्रदान गरिएको थियो ।
वार्षिक खेलकुद कार्यक्रममा आधा दर्जनबढी खेल समावेश भएका थिए । जसमा १ सय ५० विद्यार्थी पुरस्कृत भएका थिए । खेलकुदमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका कुल ५ सय विद्यार्थीहरु मध्ये ३ सय ५० को सहभागिता भएको थियो ।
वार्षिक खेलकुदका लागि मेडल तथा प्रमाण पत्र, ट्रफी, शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
अभिभावकबीच भएको खेलमा म्युजिकल चेयर र हाँडी फुटाई रहेका थिए । पुरस्कृत सबैलाई कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि र विद्यालयका निर्देशकले प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाच प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए ।
स्कुलका निर्देशक सुरेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई रहेका थिए ।
सो अवसरमा विभिन्न विद्यालयका प्रतिनिधि, समाजसेवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।



















