विराटचोक,११ बैशाख । मोरङको सुन्दरहरैंचामा लामिछाने थापा बन्धुहरुको आयोजनामा शिवमहापुराण ज्ञान महायज्ञहुने भएको छ । लामिछाने थापा वंश कुल प्रतिष्ठान नेपाल तथा लामिछाने थापा बन्धुको कुलपुजा समितिको सयुक्त आयोजनामा बैशाख २३ गतेदेखि जेठ २ गतेसम्म शिवमहापुराण हुने भएको हो ।
लामिछाने थापा कुलपुजा देवाली गर्ने मन्दिरको प्राङ्गण सुन्दरहरैंचा १० मा हुने शिवमहापुराणमा पुराण वाचक पण्डित यदुनन्दन निरौला र उपवाचक डिल्ली सुवेदीका मुखारविन्दबाट कथा वाचन हुने लामिछाने थापा वंश कुल प्रतिष्ठान नेपालका सचिव सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
उक्त महापुराणमा सहभागि भई धार्मिक एवम् आध्यात्मिकलाभ लिएर आफ्नो तन,मन र जीवनलाई सार्थकपारी पुन्य कमाउन हुन सचिव थापाले सम्पूर्णमा हार्दिक निमन्त्रणा पनि गर्नु भएको छ । उक्त कार्यक्रमको बैशाख २२ गते कलसयात्रा,बैशाख २३ गते शिवपुराण प्रारम्भ;हरेकदिन विहान ७ बजेदेखि कथा प्रारम्भ,साझ आरती,झाँकी प्रदर्शनी र भजनकिर्तन हुने लामिछाने थापा बन्धुको कुलपुजा समितिका अध्यक्ष जीतबहादुर थापाले बताउनु भयो ।
महापुराणको समापनका दिन सामूहिक व्रतबन्ध पनि गरिने शिवपुराण आयोजक मूल समारोह समितिका सल्लहाकार नारायणबहादुर थापाले जानकारी गराउनुभयो । व्रतबन्ध गराउन इच्छुक परिवारले वैशाख २७ गते सम्ममा बटुको नाम टिपाउन समेत शिवपुराण आयोजक मूल समारोह समितिले अनुरोध गरेको छ ।



















