काठमाडौं,२३ वैशाख । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले नक्कली शरणार्थी अपराध अथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भट्टराईले यो राष्ट्रियताको प्रश्न भएको बताउनुभएको छ । ‘विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ, देशकै शिर निहुरिन्छ’, भट्टराईले लेख्नुभएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराध अक्षम्य अपराध भएको उहाँको धारणा छ । ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध यही कोटीको अपराध हो, यो असाधारण, जघन्य र अक्षम्य अपराध हो, यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनै पर्दछ, अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुन सक्दैन, हुनुहुँदैन’, उहाँले लेख्नु भएको छ ।
यस किसिमका अपराधलाई कुनै दल वा व्यक्तिमाथि पूर्वाग्रह साध्ने औजार बनाउनु नहुने पनि उहाँले प्रष्ट पार्नुभएको छ । यसमा कसैलाई डाम्ने र कसैलाई जोगाउने गर्नुहुने उहाँको धारणा छ ।
नाम जोडिएका नेताहरू स्वयं उपस्थित भएर छानबिनमा सहयोगी बन्नु वाञ्छित रहेको उहाँले प्रष्ट्याउनु भएको छ । ‘देश, लोकतन्त्र, गणतन्त्र अर्थात् मुलुक र समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती कमजोरी गर्ने नेताहरूले आफ्ना गल्ती कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको छ, त्यसले मात्रै देश र परिवर्तनलाई बलियो बनाउँछ, सफाइ दिऔँ र अपराध छ भने स्वयं दण्डित हुने प्रायश्चितको, बाटो समाऔँ’, उहाँले लेख्नु भएको छ ।


