केराबारी,२ असार । मोरङको केराबारी गाउँपालिकालाई सबै हिसावले समुन्नत गन्तव्य बनाउने संकल्प अघि सारिएको छ । केराबारी गाउँपालिका सभाको तयारी भइरहेको बेला नेकपा एमालेले शुक्रबार हिउचुली सामुदायिक वनको सभाहलमा स्थानीय सभादलको बैठक आयोजना गरी यस्तो संकल्प लिएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ संघिय निर्वाचन क्षेत्र १ र २ का इञ्चार्ज युवराज बास्कोटाको प्रमुख आतिथ्यतामा भएको सभादलको बैठकमा केराबारीमा उपलब्ध पार्टी नेतृत्व, स्थानीय र प्रदेशसभामा समेत प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधि र सरोकारवालामाझ सहभागी दर्जनौँले केराबारी निर्माणमा चुनावताका पार्टीले अघि सारेको प्रतिबद्धताअनुरुप भए गरिएका कामको समिक्षा गर्दै द्रुत्ततर गति अघि बढ्नुपर्ने रायसुझाव राख्नुभएको थियो ।
गाउँसभाको पूर्वसन्ध्यामा प्राप्त कतिपय गहकिला रायसुझावलाई गाउँबासीकै सम्पत्तिको रूपमा ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले आफ्ना अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको फेहरिस्त सार्वजनिक गर्नुभयो ।
बैठकले आफ्नो क्षेत्राधिकारभित्र शिक्षा र स्वास्थ्यका क्षेत्रमा आममानिसको पहुँच सुनिश्चित गर्ने, कुनै पनि खालको भयरहित सामाजिक वातावरण निर्माण गर्ने, स्थानीय उत्पादनलाई बढाएर यसमार्फत आम्दानी र आयआर्जनको काममा अधिकांशलाई संलग्न गराउने, गाउँपालिकामा आयातित वस्तुलाई रोक्न आफ्नो उत्पादन वृद्धि गर्ने र निर्यातमार्फत कृषिलाई औद्योगिकीकरणतर्फ लाने, प्राकृतिक सौन्दर्यका दृष्टिकोणले जिल्लाकै सुन्दर र मनोरम केराबारीलाई आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्दै सबैको खोजाइ र रोजाइको केन्द्र बनाउने, ठूला तटबन्धन र पुल निर्माणमा उपल्ला सरकारसँग सहकार्य गर्ने, विद्यालयमा आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्ने, युवामैत्री पालिकाको रूपमा केराबारीलाई विकास गर्दै खेलमैदान निर्माण गर्ने, वनबुट्यान क्षेत्रलाई वनौषधिको रूपमा विकास गर्ने आदि योजना अघि सारेको सचिव भीम कार्कीले बताउनुभयो ।
गाउँपालिका कमिटी अध्यक्ष पूर्ण मगरको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् प्रदेशसभा सदस्य माननीय खड्गबहादुर बस्नेत, प्रदेश कमिटी सदस्य टेकबहादुर लिम्बू पार्टीका केन्द्रीय विभाग सदस्य बद्री अर्याल, मोरङ जिल्ला कमिटी उपसचिव शान्ति लिम्बू, नेताहरू क्रमशः नारायण भुजेल,प्रेमबहादुर महत, मनमाया मगर, डीबी सुब्बा, प्रेम लिम्बू लगायतको आतिथ्यता रहेको बैठकको सहजीकरण र नीति–कार्यक्रम एवम् बजेटसम्बन्धी पार्टी केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटाले अभिमुखी गराउनुभएको थियो ।


