आइतबार राजधानी काठमाडौँका विभिन्न ठाउँमा शृंखलाबद्ध विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। घटनामा ७ जना घाइते भएका छन् ।
आइतबार घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरमा दिउँसो सवा चार बजे भएको विस्फोटमा शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) इकाईका विद्यार्थी नेता प्रज्वल शाहीको मृत्यु भएको छ। बाँकी तीन जना मृतकको अझै परिचय खुलेको छैन।
प्रतिबन्धित नेत्रविक्रम चन्द समूह ‘विप्लव’ समूहले आज (सोमबार) का लागि आह्वान गरेको नेपाल बन्द सफल पार्न आइतबारदेखि नै श्रृंखलाबद्ध बम विस्फोट गराउँदा ठूलो मानवीय क्षति भको छ। बम विस्फोट र आतंकको श्रृंखला आज (सोमबार) पनि जारी छ।
आइतबार दिउँसो सुकेधाराको विस्फोटमा तीन र घट्टेकुलोमा एक जनाको मृत्यु भएको छ। सुकेधारा विस्फोटमा चार, घट्टेकुलोमा एक र थानकोटमा भएको विस्फोटमा दुई घाइते छन्।
आइतबार घट्टेकुलो र सुकेधारामा भएको विस्फोट विप्लव समूहका कार्यकर्ताले टाइम मिलाउन नजान्दा भएको प्रहरीले दावी गरेको छ।
सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाई छ।
सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो। एम र पिएमको अलमलले योजनाभन्दा १२ घन्टा अघि नै विस्फोट भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरुले १२ घन्टाअघि टाइम मिलाउने क्रममा एक्कासी बम पड्किएको बताएका छन्।
काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ। कोटेश्वबाट प्रहरीले प्रेसरकुकर बम सहित सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरुमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
राति ८ बजेतिर थानकोटको एक इँटाभट्टामा भएको विस्फोटमा चन्द समूहका बुद्ध लामा र अर्का एक कार्यकर्ता घाइते भएका छन्।
घट्टेकुलो विस्फोटमा रवीन केसी र सुकेधारामा सुरेन्द्र महर्जन, हरि खड्का, छोटु ठाकुरसहित ४ जना घाइते छन् । रुकुम सानुभेरी स्थायी घर भएका केसी त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन्।
घाइतेहरूको वीर अस्पताल र चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको छ। ओममा उपचाररत पाँचमध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको अस्पताल श्रोतले जनाएको छ।
घाइते एक जनाको टाउकोमा गम्भीर चोट छ। अर्काको खुट्टाको भाग गुमेको प्रहरीले जनाएको छ। सुकेधारा विस्फोटका घाइते सुरेन्द्रको अनुहारमा तथा हरिको पेट र दुवै खुट्टामा चोट लागेको छ।
प्रहरी कारबाहीका क्रममा भोजपुरमा गोली लागी आफ्नाकार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा सोमबार विप्लव समूहले बन्द आह्वान गरेको हो।
आइतबार ललितपुरको लगनखेलस्थित बसपार्क, सानेपा, ग्वार्कोमा बेलुका प्रेसकुकर बम फेला परेको थियो।


