नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो ( सीआइबी ) ले ललिता निवास जग्गा प्रकरण (जसलाई बालुवाटार जग्गा प्रकरण समेत भन्छन ) को विषयमा अनुसन्धान र अभियोजन सुरु गरेको विषय अत्यन्त स्वागत  योग्य छ । 

सरकारी स्वामित्वको जग्गा निजि बनाएर धनि हुने खेलमा संलग्न जोसुकै पनि कारवाहीको दयारामा आउनु पर्छ , उनीहरुलाइ कारवाहीको दयारामा ल्याउनु पर्छ । कुरो यत्ति हो त्यसमा यदी तर यता त्यता हुन सक्दैन । कुनै पनि घटना ( फौजदारी , आर्थिक वा अरु कुनै मुद्दामा )  अनुसन्धान हुँदै गर्दा नै कोहि कसैलाइ निर्दोष वा कोहि कसैलाइ दोषी करार गर्ने काम न हिजोको कुनै मुद्दामा गरियो न यस सम्वन्धमा नै गरिन्छ । 

भलै मुद्दाको प्रकृति हेरेर त्यस संग जोडिएका  पात्रहरुको विगत हेरेर भनिएको मुद्दामा सम्वन्धित व्यक्ति दोषी ठहर हुन सक्छ वा सक्दैन भन्ने अनुमान निर्धक्क भएर सार्वजनिक रुपमा नै व्यक्त नगरेको भने हैन । त्यसैले बालुवाटार जग्गा प्रकरणमा पनि मेरा आफ्ना निजी निष्कर्ष र मान्यताहरु छन । त्यसको स्वतन्त्र र निस्पक्ष छानविन हुँदै गर्दा अहिले नियोजित रुपमा  आरोपित बनाउन खोजिएका कतिपय सुस्पष्ट रुपमा  निर्दोष ठहर हुने अनि प्रायोजित रुपमा निर्दोष बनाउन खोजिएकाहरु दोषी प्रमाणित भएर जेल पुग्ने भन्नेमा म चाहिं स्पष्ट छु  । यद्धपि अनुसन्धान चल्दै गर्दा सकेसम्म मौनता साँध्न जरुर  खोजेको  हो तर यस विषयलाइ लिएर मैले मौनता  साँधेको सम्वन्धमा कतिपय हितैषीहरुले समेत चिन्ता आशँका र दुख व्यक्त गर्दै मेसेज कल गर्नु भयो । खास गरेर मैले सदैव सम्मान समर्थन र वकालत  गर्ने गरेको नेता , पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको के होला भनेर धेरैको चासो पाएँ । 

हाल क्रियाशील शीर्ष  नेताहरु ( बालेन शाह वाहेक कथित नया भनिनेहरु समेत ) मध्य आर्थिक इमान्दारिता अब्बल , सरलतामा अनुकरणीय  र सक्रियतामा जवर्जस्त भएकोले नै मैले माधव नेपाललाइ निरन्तर समर्थन गर्दै आएको हुँ । मलाई  अहिले बालुवाटार जग्गा प्रकरणको छानविन सुरु हुँदै गर्दा पनि त्यसले माधव नेपाललाइ दोषी हैन निर्दोष नै प्रमाणित गर्नेछ भन्ने नै लाग्छ । किन ? किन भने माधव नेपालले लोभ लालच राखेर काम गरेको भए , कहाँ बाट पैसा आउँछ भनेर पछि लागेको भए वहाँको जीवन शैली जे जस्तो छ त्यस्तो हुने थिएन । 

यदी वहाँ निजि सम्पत्ति आर्जन गर्ने अभियानमा लागेको भए तमाम शक्तिशालीहरुको विरुद्ध वहाँको गर्जन सम्भव थिएन  । अनि निष्ठा र इमानको जगमा गर्जन गर्ने वहाँको आँट र साहसको पृष्ठभुमि नबुझेको भए हाम्रो समर्थन वहाँ प्रति हुने थिएन । त्यसैले अहिलेलाइ यति मात्रै भनौं कि माधव नेपाल  देखि वहाँका आम तमाम समर्थक शुभेच्छुकहरु बालुवाटार जग्गा प्रकरणको अनुसन्धान र अभियोजन बाट कतै चिन्तित छन कि भन्ने कोहि कसैलाइ लागेको छ भने त्यो नगर्दा हुन्छ किन कि यस अनुसन्धानको तीव्रताले  त्यो कित्तामा कुनै चिन्ता हैन खुसिको माहोल छ । नहोस पनि किन ? 

बिना कसुर निरन्तर यसै अफवाहपूर्ण आक्रमणको सिकार हुनु भन्दा  सत्य तथ्य छानविन बाट निर्दोष सावित हुन पाउँदा चिन्ता कसले गर्छ ? त्यसैले यसमा मेरो स्पष्ट धारणा छ कि वहुचर्चित बालुवाटार जग्गा  काण्डको सत्य तथ्य छानविन होस ! दोषी जोसुकै हुन तिनीहरु उम्कन नपाउन अनि निर्दोषहरुले आफ्नो निधारमा लगाउन खोजिएको कलंक हटाएर आफ्नो वेदाग  व्यक्तित्व स्थापित गर्न सकुन । त्यसो गर्दै गर्दा हामिले इमान्दार ठानेकैहरु समेत भ्रष्ट प्रमाणित भएछन भने सार्वजनिक माफी मागौंला तर हालसम्म सत्य तथ्यमा टेकेर विचार बनाउँदै आएकोले यसमा पनि माफी माग्न पर्ने ठाउँमा पक्कै पुगिन्न भन्ने विश्वास रहेको पनि स्पष्ट पार्नु वान्छनीय ठान्छु ।