गाँउमा शिविर आउने थाहा पाएपछि नागरिकता बनाउन आएकी सिद्धारा ढोडेनी दुम्सीकी ७१ वर्षीया भविश्वरा आले हातमा पहिलो पटक नागरिकता पाएपछी दङ्ग परिन्।
झन्डै ७ घण्टा पैदल उकालो बाटो हिँडेर सकसले जनतन शिविरमा आएकी उनले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रलाई धेरै पटक वल्टाई पल्टाई हेरिन्। अनि साेधिन् 'अब यो कागज दिएपछि मैले भत्ता पाउँछु होला नी बाबु?'
अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भविश्वरा आलेले ७१ वर्षको उमेरमा नागरिकता पाएपछी सरकारले आफूलाई पैसा दिनेमा पनि ढुक्क देखिन्थिन्।
यस्तै, खुशी थियाे ७६ वर्षीय लोकमणी पौडेलकाे मुहारमा पनि। हातमा नागरिकताको प्रमाणपत्र पाएपछी पौडेलले खुसी हुँदै भने ‘बुढेसकालमा नागरिकता बनाम्ला भनेर सोचेको पनि थिइन। गाँउमा शिविर आएपछी नागरिकता पाएँ।’
सिद्धाराको लामादेव बाट ९ घण्टा ३० मिनेट पैदल हिँडेर शिविरमा नागरिकता बनाउन आएका ७० वर्षीय डम्बर बहादुर दर्लामी पनि पहिलो पटक हातमा नागरिकताको प्रमाणपत्र पाएपछि निकै खुसी देखिन्थे।
‘गाँउमा नागरिकता बनाउने शिविर आउने जानकारी पाएपछी राती नै झोलामा अर्नी हालेर बल्ल बल्ल आएँ। आएको केही समयपछी हातमा सिडियो सरले नागरिकता दिनुभयो मलाई अति खुसी लागेको छ।’ उनले भने, ‘आफुले लेखपढ् गर्न नजान्ने कसले बनाईदिने नागरिकता, सदरमुकाम जान पनि नसकिने शिविरमा आएपछि वडा अध्यक्षले चाहिने जति कागज मिलाई दिनु भयो। फोटा खिच्ने ठाँउ बताईदिनु भयो। अहिले सजिलैसँग नागरिकता पाएँ।’
अब नागरिकता पेश गरेपछी सामाजिक सुरक्षा भत्ता पाउन र जग्गा किनबेच गर्न सजिलो हुने उनले बताए।
जिल्ला प्रशासनको जोड
अर्घाखाँचीको अति बिकट क्षेत्र सिद्धाराको बाघखोरमा शनिबार देखी सुरु भएको एकिकृत घुम्ती शिविर आइतबार सम्पन्न भएको छ। एक दिनका लागी भनेर सञ्चालन गरिएको घुम्ती शिबिरमा सोचे भन्दा बढी सेवाग्राही आएपछी आइतबार पनि नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
ग्रामिण भेगका नागरिकले फेरि पनि दुःख नपाउन् भन्ने उद्देश्यले एक दिन थपेर भएपनि आएका सेवाग्राहीको हातमा नागरिकता थमाएरै सदरमुकाम फर्किने उद्देश्यले आइतबार पनि नागरिकता बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले बताए।
जनताको घरदैलोमा आएको एकिकृत घुम्ती सिविरबाट असहाय, अशक्त, गरिब, अति विपन्न नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रजिअ बेल्बासेकाे भनाइ छ। कहिल्यै नागरिकता बनाउन नसक्ने मान्छेले पनि नागरिकता पाएको उनले बताए।
हरेक स्थानीय तहसँग समन्वय गरी जिल्लाका अन्य पालिकाहरुमा पनि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको र पछिल्लो समय ग्रामिण भेगमा सञ्चालन गरिएका शिविरहरुबाट हजारौं सर्वसाधारणलाई राहत पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाई छ।
नगरपालिकाको लक्ष्य
भूगोलमा नेपालकै ठुलो सितगंगा नगरपालिकालाई भूगोलले नै ठगेको छ। सिद्धारा क्षेत्रलाई अर्घाखाँचीको कर्णाली क्षेत्र भन्ने गरिन्छ। नगरपालिकाको ९, १० र ११ नम्बर वडाका नागरिकलाई लक्षित गरी गाँउमै सरकारी सेवा सुबिधा पुर्याउने उद्देश्यले सिद्धाराको बाघखोरमा एकिकृत घुम्ती शिविर राखिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए।
यो क्षेत्र अति दुर्गम रहेकाले यहाँका नागरिक सरकारी सेवा सुबिधाबाट बञ्चित हुँदै आएकाले अहिले शिविरबाट सयौं नागरिकले सेवा पाएको अधिकारीले दाबी गरे। भूगोलले ठगेको यो क्षेत्रमा विकासको गति अघि बढ्न नसकेको भन्दै छरिएर रहेका बस्तीलाई विकासको गति तुरुन्तै पुग्ने ठाँउमा बस्ती एकीकरण गरी ब्यवस्थापन गर्न नेपाल सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिए।
‘२, ४ घर को अन्तरमा बस्ती छ। त्यसमा विकास पुर्याउन मोटो रकम खर्चिनु पर्छ। हामीले पटक पटक निबेदन गरेका छौं, छरिएर रहेका बस्तीलाई खेती योग्य र कमखर्चमा विकास पुग्न सक्ने ठाँउको छनोट गरी बस्ती एकिकरण गर्न सिफारिस गरी माथि पठाएका छौं यसमा सरकारले नै नीति बनाएर अगाडी बढाउनु पर्छ’ नगर प्रमुख अधिकारीले भने।
उप प्रमुख टिका रेश्मीले शिविरबाट दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा प्राप्त गरेको बताइन्। वर्षौंसम्म नागरिकता नभएर जग्गा किनबेच नामसारी, सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएका नागरिकलाई अब बाटो खुलेको छ। उनीहरुले आफ्नो घरदैलोमा आएर यसरी सरकारी सेवा सुबिधा लिन पाउदा राहतको महसुस गरेको उप प्रमुख रेश्मीको भनाई छ। स्वास्थ्य परिक्षण गर्न नपाएका, बिभिन्न कारणले नागरिकताको प्रमाणपत्र बनाउन नसकेका, जनचेतना मुलक कार्यक्रममा सहभागी हुन नपाएका, अपाङग परिचयपत्र पाउन नसकेका, जेष्ठ नागरिक परिचय पत्र बनाउन नसकेकाहरुलाई निकै ठुलो राहत भएको उपप्रमुख रेश्मीले बताइन्।
शिविरमा अनुमान गरिएको भन्दा बढी सेवाग्राहीले सेवा लिएको तर अझ पनि सरकारी क्षेत्रको पहुँच भन्दा बाहिर धेरै जनता रहेकाले अनुकुल मिलाएर फेरि शिविर सञ्चालन गर्न आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए।
नागरिकको अनुहारमा खुशी
सिद्धारा १० छापडाँडाका ७६ वर्षीय लोकमणी पौडेललाई नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी दिएर शिविरको उद्घाटन गरिएको थियो।
दुर्गम गाँउका नागरिकले सरकारी सेवा घरदैलोमै पाएपछि निकै खुसी भएका छन्। उनीहरु भन्छन्, ‘घरबाट ९, १० घण्टाको बाटो हिँडेर गाडी चढ्नु पर्छ, गाडीमा करिव ३ घण्टाको बाटो हिँडेर सदरमुकाम पुग्नु पर्छ। सदरमुकाम पुगेर बेलैमाथी काम हुदैन बस्नु परे एउटा नागरिकता बनाउन १२ देखी १५ हजार खर्चिनु पर्छ। निकै दुःख पाउदै आएका थियौँ। अहिले घरबाटै नागरिकता पाउदा निकै खुसी लागेको छ।’
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र सितगंगा नगरपालिकाको संयोजनमा सम्पन्न भएको एकीकृत घुम्ती शिबिरमा जिल्ला स्थित विभिन्न सरकारी निकायहरुबाट सेवा प्रदान गरिएको थियो। एकिकृत घुम्ती शिबिरबाट ४ सय ८३ जनाले नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन्। त्यस्तै ३ सय ७४ जनाले मतदाता परिचय पत्र, ४ सय २१ जनाले निशुल्क आफ्नो स्वास्थ्य जाँच गराएका छन् भने ३० जनाको पाठेघरको मुखको क्यान्सरको जाँच तथा उपचार गरिएको छ। १ सय ३ जनाले मुटु रोगको जाँच गराएका छन् भने १७ जनाले मुटुको ईसिजी गराएका छन्। १ सय ५० जनाले आखाँको जाँच गराएका छन् भने ३० जनाले सुगर रोगको जाँच गराएका छन्।
यसै गरि १५ जनाले अपाङ्ग परिचयपत्र, ५९ जनाले जेष्ठ नागरिक परिचयपत्र पाएका छन्।
सितगंगाको वडा नम्बर ९, १० र ११ वडाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। जनताको घरदैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उदेश्यले जिल्लाकै बिकट क्षेत्रमा एक दिने घुम्ती शिबिरको आयोजना गरिएको हो। शिबिरले अति गरिब, बिपन्न बर्गलाई फाईदा पुगेको जनजागृती उच्च माविका प्रध्यानाध्यापक रोमाखर बन्जाडेले बताए। सरकारी सेवा लिन सदरमुकाम सम्म पुग्न नसक्ने त्यस्ता अति बिपन्न समुदायका नागरिक गाँउमा आएको शिबिर बाट प्रत्यक्ष लाभान्वित भएका छन्।
सचेतना कार्यक्रम पनि
शिबिरमा समुदाय– प्रहरी साझेदारी कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी प्रमुख नवराज मल्लले अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक नङ र मासुको संबन्ध रहनु पर्ने बताए। पछिल्लो समय जगन्य अपराध, जबरजस्ती करणी, बाल बिबाह, महिला हिंसा जस्ता घटना बढिरहेकाले यस्ता जघन्य अपराध न्युनिकरण गर्नका लागी प्रहरी र नागरिकको संबन्ध बलियो हुनु पर्ने प्रहरी प्रमुख मल्लले बताए।
सचेतना कार्यक्रमको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नगर प्रमुख सुर्य प्रसाद अधिकारी, सहायक डिभीजन वन अधिकृत सिला पोखरेलले सहजीकरण गरका थिए। लागु औषध तथा मादकपदार्थ, लैङ्गिक हिंसा बिरुद्ध जनचेतना मुलक कार्यक्रम, वन डढेलो नियन्त्रण र मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन सम्बन्धमा डिभिजन वन कार्यालयले सचेतना मुलक कार्यक्रम गरेको थियो। शिबिरमा सेवाग्राहीको उल्लेखनीय सहभागीता रहेको थियो ।


