संखुवासभा, १६ असार । संखुवासभाको सिलिचुङ गाउँपालिका–१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच दोहोरो गोली हानाहानपछि हेलिकप्टरमा थप प्रहरी पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली हेयाङ्लामा पठाइएको हो । सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी हेयाङ्लामा अवतरण गराइएको प्रधान कार्यालयले जनाएको छ ।

विप्लव समूह र प्रहरीबीच सोमबार बिहान हेयाङ्लामा गोली हानाहान भएको थियो । संखुवासभा प्रहरीका ९ जना र सशस्त्र प्रहरीका १० जना प्रहरी बिहान हेयाङ्ला पुगेको जनाइएको छ । विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ ।

झण्डै २० मिनेट दोहोरो गोली हानाहान भएपछि विप्लव समूह तितरवितर भएको र सुरक्षाकर्मी सुरक्षित रुपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ क्षति नभएको दाबी प्रहरीको छ ।