विपन्न दलित समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको पक्की घरको छानो हाल्न लामो समयसम्म पनि जस्तापाता नपाएपछि लाभग्राहीले खरले छाएका छन्।

जस्ताले छाउने २ कोठाको पक्की घर बनाउने काम दुई वर्ष बित्न लाग्दा समेत पूरा भएको छैन। बरहथवा नगरपालिका–१५ पिपरभित्ताकी संजादेवी राम पक्की पर्खालमा फुस्कोले छाएको घरमा बस्न थालेकी छन्। यो खबर आजको नागरिक दैनिकमा सर्लाहीबाट टंक क्षेत्रीले लेखेका छन्।

‘के गर्नु नयाँ घर बनाईदिन्छ रे भनेर दुईवर्ष अगाडि भएको सानो झुपडी पनि भत्काएँ’, पक्की पर्खालमा किन फुस्कोले छाएको भन्ने प्रश्नमा संजादेवीले थपिन्, ‘घर बनाईदिने सरकारी हाकीम साब अनि ठेकेदार र कामगर्ने मान्छेहरु पनि एक वर्षदेखि फर्केर आएकै छैनन्।’

कतिपय घरको छानामा हालिएको जस्तापाता पनि कवाडीबाट उठाएर ल्याएको कमसल देखिन्छ। निकै पातला, कलर समेत खुलिएका र कुनै सादा जस्तापाता राखेर छाना छाईएको छ।

छानामा सामान्यतया एउटै रंगका जस्तापाता हालिने भएपनि हरेक घरका छानाहरु रंगिविरंगी छन्। घामपानी छल्नै गाह्रो भएपछि वर्षौंसम्म जस्तापाता पर्खन नसक्ने बाध्य भएर खरको छानो हालेको संजादेवीले बताईन्।

छेउमै राहुल पासवानका लागि बनेको घरमा भने छाना हालिएको छैन। ‘खै छानाका लागि जस्तापाता दिन्छ रे भन्ने सुनेको थिएँ’, उनले भने, ‘तर दुई वर्ष बित्न लागिसक्यो, छाना नै आएन।’

२ लाख ५० हजार रुपैयाँमा एकवर्ष भित्र नयाँ घर बनाईदिएर आफूहरुलाई दिने भन्ने सुनिएपनि दुई वर्ष बित्न लाग्दा समेत कहिलेसम्म बनाईसक्ने भन्ने थाहा नभएको संजादेवीले बताईन्।

‘नयाँ घर पाईने भो भनेर पूरानो काठको घर भत्काएर छेउमा सानो टहरा बनाएर घामपानी नभनी डेढ वर्ष बस्यौं’, संजादेवीले भनिन्, ‘तर त्यो टहराले घामपानी नथेगेपछि बाध्य भएर पक्की घरमा फुसको छानो हालेर बस्न थालेका छौं।’

जनता आवास कार्यक्रम अन्तर्गत विपन्न दलित समुदायका लागि निर्माण गरि हस्तान्तरण गरिएका नयाँ घरमा निकै कमसल सामग्रीहरु प्रयोग गरेको देखिएको छ। निर्माणाधिन अवस्थामै पक्की घरका पर्खालहरु चर्किसकेको छ। इट्टा जोडाईका लागि राखिएको सिमेन्ट र बालूवाको मसला फुस् फुस झर्न थालेका छन्।

कमसल सामानहरु राखेर घर बनाईएको बसबरिया गाउँपालिका–२, मानपुरका धरिछन पासवानले गुनासो गरे। ‘बल्ल तल्ल घर बनाईदिए’, लाभग्राही पासवानले भने, ‘तर छाएको जस्तापाता नै थोत्रा छन्, सिमेन्ट अत्यन्त कम हालेर जोडाई गरिएको छ, निकै कमसल सामानहरु राखेर हामिलाई ठगिएको छ।’

२ कोठाको सानो घर २०७४ असारदेखि बनाउन सूरु गरेपनि अहिलेसम्म पूरा नगर्दा आफूहरु निकै मारमा परेको संजादेवीले गुनासो गरिन्।

गत आर्थिक वर्षमा सर्लाहीमा १ हजार घरहरु परेको र त्यसमध्ये अधिकांश लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको जनता आवास कार्यक्रम हेर्ने तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन जनकपुरका प्रमुख गंगा यादवले दाबी गरेका थिए। तर अझैपनि जस्तापाता नपाउँदा खरले छाएका र छाना नै नभएका घरहरु अझैपनि बग्रेल्ती छन्।