एजेन्सी । भारतको पश्चिम बंगालमा एक दम्पत्तिले आइफोन १४ खरिद गर्नका लागि आफ्नै आठ महिने बच्चा बेचिदिएका छन् ।
बीबीसीहिन्दीका अनुसार कोलकत्ताको उत्तर २४ परगना जिल्लाका प्रहरीले बैरकपुरबाट बच्चाको आमा र बच्चा खरिद गर्ने व्यक्ति प्रियंका घोषलाई गिरफ्तार गरेका छन् ।
डेढ महिनाअगाडि नै प्रहरीले दुई जनालाई गिरफ्तार गरेता पनि हालै मात्र यो विषय सार्वजनिक गरिएको हो । बच्चा बेच्ने पिता जयदेव भने फरार भएको बताइएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा आफ्नै आमाबुबाले आठ महिने बच्चा बेचेको पुष्टि भएको हो । बच्चाका आमाले आफूहरूले भिडियो बनाउनका लागि फोन नभएपछि बच्चा बेचेर आइफोन किनेको बयान दिएकी छिन् ।
छिमेकीले आर्थिक अवस्था कमजोर भएको जयदेवको परिवारको हातमा आइफोन १४ देखेपछि र घरमा बच्चा नदेखेपछि सन्देह जनाउँदै प्रहरीमा खबर गरेका थिए ।
यतिबेला बच्चा बेच्ने आमा र किन्ने व्यक्ति गिरफ्तार भइसक्दा बच्चाका पिता फरार छन् । उनीहरू तीनै जनामाथि मानव तस्करीको अभियोगमा मुद्दा चलाइनेछ ।




















