• ✍️ राधाकृष्ण देउजा 

हामि अक्सर आफैं भन्ने गर्छौं कि राजनीतिक दलहरु र खासमा त्यसका नेताहरुले  सच्चिने वा सक्किने अव रोज्नु पर्छ ! देशको बिग्रँदो अवस्था र त्यस्तो अवस्थालाइ बदलेर अगाडी लान आवश्यक नीति नेतृत्व र व्यवाहारको अभाव देखिएको अवस्थामा प्रकट हुने सच्चिने वा सक्किने भन्ने चुनौती यथार्थपरक अनि क्रान्तिकारी लाग्ने नै भयो । हो हाल भएका अधिकाँश दल र तिनका नेताहरु सच्चिने वा सक्किने छनोट गर्नै पर्ने अवस्थामा छन र यथार्थ हेर्दा लाग्छ कि धेरै सक्किने चाहिं छन । समय अनुसार सच्चिन र बदलिने नसक्नेहरु सक्किनु त संसारको नियम नै हो , त्यसैले समयको माग अनुसार आफुलाइ बदल्न नसक्नेहरु सक्किने कुरामा खासै चिन्ता नगर्दा पनि हुन्छ । तर चिन्ता नगरी नहुने कुरा चाहिं अर्को छ । त्यो के भने नेता र दललाइ सके सच्चिने नसके सक्किने भन्दै हुंकार गर्ने हामि सर्वसाधारण  पनि वास्तवमा या सुधार्नु पर्छ वा हामी पनि सक्किने नै हो  । हामि सक्किने भन्नाले हाम्रो इहलिला सक्किने भन्ने चाहिं हैन । हामि सक्किने  भनेको त स्वाभिमान पहिचान र सार्वभौमिकताको दृष्टिले हाम्रो देश कला संस्कृति सक्किने हो । त्यसैले हामी पनि अब  ढिला  नगरी सच्चिन नै पर्छ । त्यो किन ? किन कि ;

१. हामि अक्सर कुनै पनि व्यक्ति , पात्र र प्रवृतिको समग्रता नहेरीकन  सतही सुचनाको आधारमा मनोगत  विश्लेषण गर्दै त्यसले अक्सर निकाल्ने गलत निष्कर्षको आधारमा निर्णय लिन्छौं । जसको परिणाम स्वरूप  हुनु पर्ने काम हुदैन , नहुनु पर्ने काम हुन्छ । पुरष्कृत हुनुपर्ने दण्डित  , सम्मानित हुनु पर्ने अपमानित हुने अवस्था पनि बन्ने गरेको छ । त्यसैले अव कुनै पनि विषयमा धारणा बनाउनु अगाडी त्यसको  बारेमा गहन अध्यन अनुसन्धान गर्ने र आफ्ना धारणाहरुलाइ तथ्यपरक अनि आफ्ना कर्महरुलाइ सकारात्मक अनि परिणाम उन्मुख बनाउनेमा दृढ हुनुपर्छ ।

२. हामि अक्सर नियम कानुनको कार्यान्वयन आफ्ना लागि एउटा ढंग बाट अनि अरुलाइ अर्को ढंगले होस भन्ने चाहन्छौं । उधाहरणको लागि  बाटोमा सवारी नियम उल्लङ्घन गर्दै गर्दा ट्राफिक प्रहरीले नियम बमोजिम हाम्रो लाइसेन्स लग्यो भने तत्काल चिने जानेको शक्तिशाली व्यक्तिहरुलाइ पुकार्न तम्सने अनि तिनै प्रहरीले कोहि अर्कोलाइ निर्दोष ठहर गर्दै छोड्यो नै भने पनि त्यसमा चलखेल देख्ने र सोहि गलत निष्कर्षमा टेकेर सम्वन्धित  ट्राफिक प्रहरी देखि लिएर आम तमाम राजकीय निकाय र पदाधिकारीलाइ गालि गर्न तम्सने त हाम्रो संस्कार बन्दै गएको छ । यस्ता उधारण यत्रतत्र सर्वत्र देख्न पाइन्छ । हो यस्तो कुसंस्कार त्यागेर नियम कानुन सबैलाइ बराबर गर्नु  पर्छ र त्यसको सुरुवात मै बाट गरियोस भन्न सक्ने हुनुपर्छ हामि !

३. हामि भन्छौं हाम्रो राज्य बलियो होस । हामि हाम्रो देशलाइ संसारमा सबैले सम्मान गरुन , हाम्रो राष्ट्रको सार्वभौमसत्ताको सम्मान होस भन्ने चाहन्छौं । तर हामि आफैं आफ्नो देशको संविधान कानुन देखि देशको विभिन्न ओहोदामा पुगेकाहरुलाइ आफ्नो आफ्नो राजनीतिक धार्मिक  सांस्कृतिक    अनुसार फरक फरक व्यवाहार गर्छौं । दुनियालाइ लाज हुने गरेर आफ्नो देशको राष्ट्रअध्यक्ष देखि राज्यको विभिन्न तह र तप्कामा रहेकालाइ आफ्नो र अर्काको दृष्टिले हेर्ने  र सोहि अनुसार व्यवहार गर्छौं । हामि देशको आन्तरिक मामिला  देश भित्रै सिमित  गर्नुपर्छ ,आन्तरिक असहमति र विवादलाइ लिएर अन्तराष्ट्रिय  भुमिमा समेत असहमति र असन्तुष्टि देखाउनै पर्छ भन्ने जस्तो गरेर  गाइजात्रा गर्छौं । अनि हामि आफैंले तोहीन गरेको तिनै प्रधानमन्त्री र  मन्त्रीलाइ अर्को देशले उचित सम्मान नदिँदा त्यसमा आफ्नो आन्तरिक एकता नहुनु कारक रहेको सत्य भुलेर उल्टो  सम्वन्धित पदाधिकारीहरुलाइ यसो र त्यसो भन्न तम्संछौँ हामि । अव कमसेकम आफ्नो देशको आन्तरिक विमति देश भित्र मात्रै प्रकट गर्ने  र वाहिर चाहिं मन वचन र कर्मले एक हुने काम गर्नु पर्नेछ । 

उल्लेखित वाहेक अरु थुप्रै कुरा छन हामिले सच्याउनु पर्ने त्यस बारेमा विस्तारमा लेख्दै बोल्दै अनि कमसेकम आफुलाइ पनि आवश्यकता अनुसार बदल्दै लैजाउँला । अहिलेलाइ यत्ति भनौं कि नेताहरु मात्रै है  हामि पनि सच्चिनु अनिवार्य छ ।