काठमाडौं,२५ साउन । केही दिनअघि एक सय किलो सुन प्रकरण छानबिन गर्न माग गर्दै कडा भाषण गरेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । 

शर्मालाई के कति कारणले पक्राउ गरियो भन्ने विषयमा प्रहरीले खुलाएको छैन । शर्माले एक क्विन्टल सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । सुन काण्डका दोषीलाई कारवाही नगरिए संसद भवनमै आमरण अनसन बस्ने समेत उनले चेतावनी दिएका थिए ।

डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको हुने हुन् सक्ने अनुमान गरिएको छ । शर्माको एसएलसीदेखिकै सर्टिफिकेट नक्कली रहेको भन्ने कुराको चर्चा हुदै आएको थियो । 

शर्मा गत  मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् ।

 सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यतिबेला सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए । २०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा.  दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए । पछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।