घमण्डले आफैँलाई खान्छ, बुद्धिले सबैलाई जोगाउँछ । धर्म ग्रन्थका अनुसार इन्द्रले घमण्ड गर्दा बारम्बार स्वर्गको सिंहासन गुमाउनु पर्‍यो । दक्ष प्रजापतिको घमण्डले मानिसको टाउको काटिएर बोकाको टाउको जोडिएको सिर बोकेर हिँड्नु पर्‍यो । दुर्योधनको घमण्डले हस्तिनापुर ध्वस्त भयो । कर्णको घमण्डले आफ्नै रक्षा कवच उतार्नु पर्‍यो । 

घमण्डले ठुला ठुला तानासाहहरू ढले । दोस्रो विश्व युद्ध मच्चाउने हिटलरले आत्महत्या गर्नुपर्‍यो । आफू शक्तिशाली भएको घमण्ड गर्दा दोस्रो विश्व युद्धमा जापान ध्वस्त भयो । शक्तिकै घमण्डले राणा ढले, राजसंस्था गयो । हामी जितेर आएका, अरू सबै हरुवा भन्नेहरू अरूको नेपाली राजनीतिमा अरूको काँध नचढी उभिन समेत नसक्ने ठाउँमा पुगे । 

पुराना राजनीतिक दल काम लागेनन्, अब नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ भनेर विवादित छविका पात्र रवि लामिछाने नेपाली राजनीतिमा प्रवेश गर्नुभएको छ । विवादित यस अर्थमा कि अमेरिकामा श्रीमतीसँग विवाद भएपछि अमेरिका छाडेर नेपाल आउनुभयो । नेपालमा आएर दोस्रो विवाह गर्नुभयो । खैर त्यो उहाँको व्यक्तिगत जीवनको कुरा हो ।  

लामिछाने नेपालको नागरिकता त्यागेर अमेरिका जानु भएको थियो । अमेरिकाबाट फर्किएपछि पुन नेपाली नागरिकता नलिई पत्रकारिता गर्न लाग्नुभयो । पत्रकारिता क्षेत्रको नियामक निकायले बारम्बार नयाँ नेपाली नागरिकता लिन निर्देशन दियो । तर टेर्नु भएन । नेपालको कानुनलाई मान्नु भएन । खारेज भइसकेको पुरानै फर्जी नेपाली नागरिकताको प्रमाणपत्र पेस गरेर टेलिभिजनमा काम गर्नुभयो । टेलिभिजन खोल्नुभयो । 

पत्रकारिता गर्दा गर्दै राजनीति गर्ने सोख जाग्यो । पुरानै फर्जी नागरिकताको प्रमाणपत्र पेस गरेर पार्टी दर्ता गर्नुभयो । चुनाव लड्नु भयो । ठूला राजनीतिक दलसँग असन्तुष्ट भएका नागरिकको समर्थन पाउनुभयो । खास गरी सहरी मध्यमर्गीय समाजको राम्रै समर्थन पाउनुभयो । चुनाव जित्नु भयो । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बन्न पुग्यो । 

आफू सबैलाई मुख छाड्दै र औँला ठड्याउँदै हिँड्ने तर आफ्नो कसैले आलोचना गर्‍यो भने आफ्ना भक्तलाई प्रयोग गरेर तथानाम गाली गर्न लगाउने । सामाजिक मूल्य, मान्यता सबै बिर्सिएर तथानाम गाली गर्न लामिछानेका कार्यकर्तालाई मुख छाड्न र गाली गर्न विश्वको कुनै पनि अराजक जमातले उछिन्न सक्दैन । सुन्ने क्षमता न लामिछानेमा छ, न उहाँका कार्यकर्तामा नै छ । 

पत्रकारिता गरेर, त्यो पनि गाली पत्रकारिता गरेर राजनीतिमा प्रवेश गर्नुभएका लामिछानेलाई प्रचारमा आउन के गर्नुपर्छ भन्ने थाहा नहुने कुरै भएन । अरूलाई गाली गरेरै राजनीतिमा आफू स्थापित भएको कुरा लामिछानेले राम्रैसँग बुझ्नु भएको छ । त्यसैले उहाँले गाली गर्न त कसैलाई छाड्नु भएको छैन, छाड्ने कुरा पनि भएन । लामिछाने र उहाँका समर्थकलाई गाली शिरोमणिको उपाधि पनि कम नै हुन्छ । थप आफू प्रचारमा आउन अनेक खालका फण्डा गर्दा लामिछाने एक पछि अर्को विवादमा पर्दै आउनुभएको छ । 

राजनीतिमा विकृति र फोहोरको डङ्गुर भएकोले त्यसलाई सफा गर्ने भन्दै राजनीतिमा आउनुभएका लामिछाने राजनीतिको फोहोर सफा गर्नुको सट्टा आफैँ फोहोरेको डङ्गुर थुपार्न व्यस्त हुनुहुन्छ । एक पछि अर्को फोहोर लामिछाने आफै थप्दै हुनुहुन्छ । 

nawaraj pathik अमेरिकाबाट आएर नेपाली नागरिकताको प्रमाणपत्र समेत नलिई चितवनबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्नु भएका लामिछानेको निर्वाचित हुने बित्तिकै सांसद पद गयो । छोटो अवधिमा गृह मन्त्री हुँदा राहदानी छपाई, क्रसर काण्ड लगायत काण्डमा उहाँ मुछिनु भयो । अरूसँग जवाफ माग्ने लामिछानेले त्यसको चित्तबुझ्दो जवाफ अहिलेसम्म नेपाली जनतालाई दिन सक्नु भएको छैन ।   विदेशी नागरिकता त्यागेर नेपालको नागरिकता नलिई देशको कानुनलाई चुनौती दिएर लामिछाने चुनाव लड्नु भयो । बेथितिको फोहोरमा अर्को फोहोर थप्नु भयो ।  उहाँकै कारण चितवन–२ मा मध्यावधि चुनाव भयो । जसबाट राज्यले अनावश्यक चुनावी खर्च बेहोर्नु पर्‍यो । आर्थिक संकटमा फसेको मुलुकले अनावश्यक चुनाव खर्चको बोझ बोक्नु पर्‍यो । 

प्रचारमा आउन निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा लामिछानेले ब्लु बस र मोबाइल क्लिनिक सञ्चालनको लागि ब्लु एम्बुलेन्स ल्याउनुभयो । विना कुनै आधार र केही संरचना नै नबनाई विदेशबाट फर्किएका सयौँ नेपालीलाई जागिर दिने घोषणा गर्नुभयो । 

ब्लु बस र ब्लु एम्बुलेन्समा लामिछानेले गैर कानुनी काम गरेको प्रमाणित भइसकेको छ । राज्यको सम्पत्ति दुरुपयोग गरेर सरकारी अस्पतालको एम्बुलेन्सलाई पार्टीको झण्डाको रंग लगाएर प्रयोग गरेको पुष्टि भएपछि सञ्चालनमा ल्याएको दुई दिनमा नै उहाँले एम्बुलेन्स फिर्ता गर्नु पर्‍यो ।  

६५ वर्षभन्दा माथिका वृद्ध–वृद्धालाई टोल टोलमा गएर स्वास्थ्य उपचार गर्ने भनि सो पार्टीले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरको भएको पुष्टि भएपछि उहाँले लाजै नमानी एम्बुलेन्स फिर्ता गर्नुभयो । अस्पतालको नामको एम्बुलेन्स ल्याएर आफ्नो पार्टीको झण्डाको रङ्ग लगाएर अस्पतालकै स्वास्थ्यकर्मी प्रयोग गरेर पार्टीको तर्फबाट शिविर सञ्चालन गरेको तमासा लामिछानेले देखाउनु भयो । 

लामिछानेले चितवनमा महिलाको लागि भनि सञ्चालन गरेको निःशुल्क बसको समेत अनुमति नलिई रङ्ग फेरिएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई लामिछानेकै पार्टीको झण्डाको निलो रङ्ग लगाएर ब्लु बस बनाइएको छ ।  मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी लिइएको सो बसलाई तिर्ने रकमको स्रोत के हो ? लामिछानेले खुलाउनुभएको छैन । 

अरूलाई हरेक विषयमा प्रश्न उठाउने लामिछाने र उहाँका कार्यकर्तालाई यो प्रश्न गर्‍यो भने फेरी गालीको वर्ष हुने निश्चित छ । तै पनि सत्य त बोल्नै पर्‍यो ।    

लामिछाने र उहाँको पार्टीले प्रचारमा आउन अर्को तमासा गर्‍यो । स्थानी प्रशासन, प्रहरी कसैसँग स्वीकृति नलिई चितवनमा ट्राफिक व्यवस्थापनमा सहयोग गरेको भन्दै पार्टीको पहिचान झल्कने ड्रेस लगाएर वकीटकी बोकेको युवाको फोटो पार्टीको फेसबुक पेजमा सार्वजनिक गरियो । 

स्थानीय प्रशासनका अनुसार ती युवा न त ट्राफिक व्यवस्थापनको लागि खटिएका थिए । न उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिएको भनिएको चितवनको सम्बन्धित ठाउँमा पुगेका थिए । न ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने विषयमा स्थानीय प्रशासन र प्रहरीसँग अनुमति नै लिएका थिए । जम्मा फोटो खिच्न र प्रचारमा आउन त्यो काम गरेका थिए । 

स्थानीय प्रशासनले त्यो फण्डालाई रोक्न सूचना नै जारी गर्नु पर्‍यो । चितवनका प्रमुख जिल्ला अधिकारीले सूचना जारी गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिमलाई ट्राफिक व्यवस्थापनमा अनुमति दिएको र उनीहरू ट्राफिक व्यवस्थापन खटिँदा पनि नखटेको स्पष्ट पार्‍यो । प्रशासनले त्यति मात्र भनेन उनीहरूले प्रयोग गरेको वकिटकी वैध वा अवैध हो, सञ्चालनको लागि कहाँबाट स्वीकृति लिएको हो भन्ने विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको सूचना मार्फत जानकारी दियो । 

स्थानीय प्रशासनले सूचना जारी गर्ने बित्तिकै सो पार्टी हच्कियो र हत्तपत्त सूचना निकालेर स्थानीय प्रशासन लगायत सरोकारवालासँग समन्वय गरी स्वीकृति लिएर मात्र काममा खटिन कार्यकर्तालाई निर्देशन दियो । स्थानीय प्रशासनले ओकीटकीको वैधताको विषयमा प्रश्न उठाएको भए पनि पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जारी गर्नुभएको सूचनामा त्यस विषयमा केही बोलिएको छैन । प्रशासनले नै प्रश्न उठाएपछि पार्टीले जवाफ दिनु पर्दैन ? कि रास्वपालाई जवाफ दिन आउँदैन ? कतै उसको काम प्रश्न गर्ने मात्रै त होइन ? 

रवि लामिछाने र उहाँको पार्टीले एक पछि अर्को उरण्ठेउलो र केटाकेटी काम गर्दै आएको छ । अरूले त्यसो गरेका भए कति प्रश्न गर्थे होलान् रवि लामिछाने र उहाँका नेता कार्यकर्ताले ? 

व्यक्तिगत जीवनका कुरा छाडौँ । सुरुमा राज्यको जिम्मेवार निकायले ताकेता गर्दा गर्दै अमेरिकाको नागरिकता समेत नत्यागी ओर्किङ भिसामा आएर नेपाली पत्रकारिता गर्नु उहाँको पहिलो उरन्ठेउलो काम थियो । पछि अप्ठेरो पर्ने अवस्था आएको कारण अमेरिकी नागरिकता त्यागेको जानकारी अमेरिकी दूतावासमा दिनुभयो । तर नेपाली नागरिकता लिने प्रक्रियामा जानु भएन । 

नेपालको नियम कानुनलाई चुनौती दिँदै पार्टी दर्ता गर्नेदेखि चुनाव लड्ने कामसम्म गर्नुभयो । परिणामतः सांसद पद गयो र फेरी चुनावमा जानु पर्‍यो । यो उहाँको दोस्रो उरन्ठेउलो काम थियो । 

अरूलाई सत्ता र शक्तिको लोभी भन्ने जम्मा २० सिटे पार्टीलाई उपप्रधानमन्त्री माग्नु उहाँको सत्ता लिप्साको अनुपम नमुना थियो । अझ गृह मन्त्री भएपछिको ठेक्का पट्टा, क्रसर सबै तिर आँखा लगाउने कुराले धन देखेपछि उहाँको पनि तीन नेत्र भन्ने कुरालाई प्रमाणित गर्‍यो । 

प्रचारमा आउन पछिल्ला ब्लु बसदेखि, ब्लु एम्बुलेन्स र ब्लु र्यापिड रेस्क्यु टिमले त उहाँको उरन्ठेउलो र केटाकेटी पनलाई छताछुल्ल पार्‍यो । उहाँ र उहाँका कार्यकर्ताको उत्ताउलो व्यवहारलाई प्रष्ट पार्‍यो । 

राजनीतिमा नयाँ अनुहार आउनु पर्छ । नयाँ विचारले प्रवेश पाउनु पर्छ । परिवर्तनको संवाहक आवश्यक छ । तर आफू र आफ्नो प्रचारका लागि गरिने यस्ता फण्डाले नाम होइन बदनाम मात्र गराउँछ । यसले देशलाई न विकास दिन्छ, न समृद्धि । सीमित मानिसलाई आनन्दित बनाउने बाहेक यसले अरू केही गर्दैन ।