काठमाडौं,२६ साउन। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। 

आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ। यसको प्रभावले देशभर सामान्य देखि पूर्णतया बदली रहि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।