• ✍️ राधाकृष्ण देउजा 

अन्य सबै काण्ड र प्रकरणहरु जस्तै ललिता निवास जग्गा प्रकरण जसलाई बालुवाटार जग्गा प्रकरण भनिन्छ त्यसमा पनि स्वतन्त्र निस्पक्ष छानविन भएर दोषीलाइ कसुर अनुसार कारवाही तत्काल हुनुपर्छ । कथित ढंगले प्रचार गरिए जस्तो बालुवाटार जग्गा प्रकरणमा पनि कोहि कसै माथि अनुसन्धान नगर्ने भन्ने नीति वा निर्णय छैन र हुन सक्दैन । त्यसैले यस प्रकरणमा फलाना फलानाका विरुद्धमा पनि अनुसन्धान गर्नु भन्यो अदालतले भन्दै चलेको रोइलो भनेको विहान  उज्यालो हुनुपर्छ अनि बादल लागेको रहेनछ भने त्यो विहानी सुनौलो हुनुपर्छ भनेर कसैले फैसला गर्यो भन्दैमा त्यही फैसलाले गर्दा घाम लाग्ने भयो वा दिन सुनौलो हुने भयो भनेको जस्तै हो । 

किन कि कुनै पनि घटना प्रकरण वा काण्डको अनुसन्धान त्यस्तो घटना काण्ड वा प्रकरण भएको छ भन्ने विश्वास वा आरोपको जगमा सुरु  हुन्छ । अनि सत्य तथ्यले जता डोहोर्याउँछ त्यतै त्यतै त्यो केन्द्रित हुन्छ । त्यसो हुँदै गर्दा कतिपय समातिएलान , कतिपय संग वयान मात्रै गरिएला  अनि जो जसको कसुर देखिन्छ उसले सजायं भोग्छ भने निर्दोषहरुको निर्दोषिता प्रमाणित हुन्छ । अनुसन्धानको त्यही सिद्धान्त बालुवाटार जग्गा प्रकरणको सम्वन्धमा पनि लागु हुन्छ र हुनुपर्छ  । हो यसो भन्दै गर्दा कतिपयले “ओह त्यसो हो भने माधव नेपाल बाबुराम भट्टराईलाइ पनि अनुसन्धानमा ल्याउनु पर्छ ” भन्नु भएको हो ? भन्दै सोध्नेहरु देखि “ लौ माधव नेपाल बाबुराम भट्टराईलाई  समेत थुन्नै पर्छ” भन्दै अदालत भन्दा पहिला नै दोषी र निर्दोषी  छुट्याउने विद्धवानहरु पनि भेटिनु हुन्छ । अनि नेपालको राजनीतिको श्रीष तहमा विद्धमान मध्य सबै भन्दा सरल इमान्दार र नैतिकता भएको नेता माधव नेपाल हो भन्ने मेरो आत्मनिष्कर्ष प्रस्तुत गरिरहने हुनाले  कतिपयले चाहिं मैले माधव नेपाललाइ अनुसन्धानमा तान्ने कुराको नै विरोध गर्छ भन्ने सिधा निष्कर्ष निकालेर कन्टेन्ट पुरै नपढ़दै  फरर गालि सुरु पनि गर्नु हुन्छ । 

अध्यन अनुसन्धान नै नगरी , सत्य तथ्यलाइ वेवास्ता गर्दै प्रतिक्रिया दिनेलाइ त हैन तर आम राम्रा मनका मानिसहरुलाइ सम्झेर माधव नेपालको समर्थक शुभचिन्तक नै हुँ  पनि भन्दै म भन्छु कि बालुवाटार जग्गा प्रकरणमा माधव नेपाललाइ अनुसन्धानमा हिजो अख्तियारको अनुसन्धानमा पनि तानिएको नै थियो , आज पनि वहाँ लगायत निर्णय प्रक्रियामा संलग्नहरुलाइ तान्नै पर्छ । जव उहाँहरुलाइ तानिने छ, उहाँहरु संग वयान लिइने छ तव न उहाँहरुले आफ्नो निर्णयको पृष्ठभूमि  त्यसको मनसाय  र आफ्नो समयको निर्णयको औचित्य पनि राख्न पाउनु हुन्छ । 

मलाइ लाग्छ हामिलाइ मात्रै हैन स्वयम माधव नेपाललाइ पनि छिटो भन्दा छिटो अनुसन्धानको हिस्सा बनेर आफ्नो कुरा राख्न मन छ । आखिर नहोस पनि किन ? अनुसन्धानमा नबोलाउने,नखोज्ने अनि खोजेर बयान गरिएको  अवस्थामा वयान लिएको पनि कसैलाइ नभनिदिने तर वाहिर  माधव नेपाललाइ यसरी र त्यसरी,यसले र त्यसले जोगायो भनेर  फत्तुर हल्ला चलाएर मान मर्दन  गरिरहने । हो कथित हल्ला चलाएर , त्यसैको आधारमा समाजको अगाडी माधव नेपालको गर्विलो व्यक्तित्वलाई  गलाउने खेललाइ रोक्नको लागि पनि , सबै राजनीतिज्ञ चोर फटाहा छैनन् भन्ने पुष्टि गर्न पनि माधव नेपाल  आफु संलग्न भएर गरेको कुनै पनि निर्णय संग जोडिएका कुनै पनि प्रकरणहरुको अनुसन्धानमा सहयोग गर्न तयार हुनुहुन्छ । तयार मात्रै हैन उहाँ वेग्र हुनुहुन्छ । यति हो कि हाल उहाँ पुर्व निर्धारित  कार्यक्रमको दौरान विदेशमा हुनुहुन्छ ! त्यो पनि खुसुक्क हिंडेर हैन जाने दिन पत्रकार सम्मेलन गरेर  जाँदैछु मात्रै हैन यो दिन आउंछु पनि भनेर  उहाँ हिड्नु भएको हो ।

त्यसैले कोहि कसैले नठाने हुन्छ कि माधव नेपाल  अनुसन्धान बाट डराउलान, वा डराएको थिए होलान । माधव नेपालले भन्दै आउनु भएको छ कि नविराउनु नडराउनु । त्यसैले मलाइ विश्वास छ  सहि सत्य र तथ्यको आधारमा हुने निस्पक्ष अनुसन्धानलाइ माधव नेपालले स्वागत गर्नु भएको छ,सहयोग गर्नु हुनेछ र हिजो पौराणिक कालमा माता सिताले  अग्नि कुण्डमा होमिएर आफ्नो पवित्रता पुष्टि गरेर आए जस्तै अनुसन्धानमा सहयोग गरेर त्यसै मार्फत आफ्नो इमान्दारिता पुष्टि गरेर माधव नेपालले फेरी एक पटक जनतालाइ गौरवान्वित अनि जनताका विरोधीहरुलाइ थर्कमान बनाउनु हुनेछ ।