बाजुरा,११ भदौ। बाजुरामा एक जना गर्भवती महिलाले बाटोमै बच्चा जन्माएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका- १ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्म दिएकी हुन्।
सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा पुर्याएका थिए। त्यहाँ डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेकाले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका थिए। अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किने क्रममा बाटोमै उज्जलीले सन्तान जन्माएको बुढीगंगा नगरपालिका-१० का वडा अध्यक्ष दलबहादुर साउँदले बताए।
स्वास्थ्यकर्मी सिर्जना सार्कीले व्यथाले च्यापेपछि सोही वडाको पानीभुवाँ भन्ने ठाउँमा सडकमा ढलेको अवस्थामा उज्जलीलाई भेटाएकी थिइन्। स्वास्थ्यकर्मी लक्ष्मी जोशी र सार्कीको रोहवरमा उज्जलीले बच्चालाई जन्मदिएकी हुन्। अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको बुझिएको छ। लोकपाटी




















