काठमाडौं,१५ भदौ । छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं घाँटीको क्यान्सर रोगबाट पीडित भएकी छन्।

परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आइरहेकी गुरागाईं अहिले त्यहाँको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन् । 

हिजोमात्रै उनको थाइराइडको शल्यक्रिया भएको छ । निकटस्थ स्रोतका अनुसार उनी शल्यक्रियापछि ‘रिकभरि’ को चरणमा छिन् ।

स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्ने पनि पारिवारिक स्रोतले बताएको छ । 

घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईँ विगत एक वर्षदेखि हाडजोर्नीसम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पुर्ववत् अवस्थामा फर्किएर पुनः आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।’

गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् । नेपालमा इलाम घर भएका उनीहरू १५ महिनादेखि अमेरिकामा बस्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूवमा हाल्ने गरेकी थिइन् ।

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूवमा धारावाहिक प्रशारण गरेपश्चात उनीलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।