मानिसलगायत सम्पूर्ण  प्राणी र वनस्पतिको एकदिन अन्त्य ( अवसान वा मृत्यु) भएरै छोड्छ, जसलाई ध्रुवसत्यका रूपमा लिने गरिएको छ । जन्मेपछि मरिन्छ अर्थात् अजम्मरी कोही पनि हुँदैन । कोही छिटै मर्छन् भने कोही अलि पछिसम्म बाँच्छन्, यही हो हामी सबैले देख्तै र सुन्दै आएको कुरो । जन्मदा मानिसहरूमा खुसी छाउँछ भने मृत्यु हुँदा दु:खानुभूति हुन्छ ( अन्य प्राणी र वनस्पतिमा पनि यस्तै भाव रहन्छ भन्ने पछिल्लो समयका वैज्ञानिकहरूको मत रहेको पाइन्छ ) ।

सबैको बाटो एउटै हो भन्ने जान्दाजान्दै पनि केही मानिसहरू अर्काको मृत्युमा रमाउँछन् र ती कहिल्यै पनि नफर्कने गरी गएका मानिसहरूका विरुद्धमा भए नभएका कुरा ओकल्दै हिँड्ने गरेका छन् । उसको मृत्युपछि ओकलिने यस्ता कुरा सुनेपछि मलाई ती कायर मानिस हुन् भन्न मन लाग्छ । यो त मरेका बाघको जुँघा तानेझैँ भएन र ? ती जिउँदो हुँदाचाहिँ तिनका अगाडि चुँसम्म पनि गर्न नसक्नेहरूको फलाकोले कुनै अर्थ राख्ला भन्ने मलाई लाग्दैन । कोही पनि दूध वा घिउ वा महले धोइएको हुन सक्तैन । धेरथोर गल्ती र कमीकमजोरी सबैका हुन्छन् । यो यथार्थ रहँदारहँदै पनि आफूचाहिँ शतप्रतिशत चोखो हुँ झैँ गरेर मरेर गएकाहरूको विरुद्धमा विषवमन गर्नु एउटा सभ्य मानिसका लागि सुहाउने कुरो पटक्कै होइन, हुँदै होइन । त्यस्ता अभिव्यक्तिले मरेर गएकालाई छुने कुरो भएन, बरु बाँचेका तिनका परिवार र आफन्तलाई त्यसले नराम्रोसँग प्रभावित गर्दछ । के ती सबैलाई एउटै डालामा राखेर त्यस्तो अवाच्य बोल्नु न्यायसङ्‌गत हुन्छ ? यसबारे विज्ञहरूको धारणा के होला भन्ने मलाई लागेको छ ।

जब जब म कुनै मृतकप्रति यस्ता दुर्वचन गरेको सुन्छु, मलाई मानवताको क्षयीकरण हुँदै गएको अनुभूति हुन्छ । त्यसैले दिग्गज  चिन्तकहरूसँग जिज्ञासा राख्ने हेतुले मैले उक्त प्रश्नार्थक शीर्षक राखेको हुँ । म देख्छु, अहिले पनि कसैको मृत्यु हुँदा एकाध भुइँफुट्टाहरूलाई छोडेर सबैका आँखा डबडबाएकै हुन्छन् । प्रत्येक मृत्युमा प्रत्येक मानिसले निकट भविष्यमा हुने आफ्नो मृत्युलाई सम्झन्छ र उसका छातीमा करुणाको उच्छलन हुने गरेको हुन्छ । ऊ रोइनहाल्ला तर हाँस्न पनि  सक्तैन र त्यस्ता दुर्वचन पनि मुखबाट निकाल्न सक्तैन । यो मेरो देखाइ र बुझाइ हो ।