केहि दिन अगाडी कान्ति बाल अस्पतालको आकष्मिक कक्षमा समयमै उपचार नपाएर एक बालिकाको मृत्यु भएको भन्ने समाचार आयो । मृत्यु आफैंमा दुखद झन त्यसमाथि पनि साना बाल बालिकाको मृत्युको समाचार सबैको लागि सहन नै नसकिने घाउ बनेर प्रकट हुन्छ । त्यसैले समयमै उपचार नपाएर मृत्युवरण गरेकी ति बालिकाको निधनको खवर पक्कै पनि पीडादायी त थियो नै संगसंगै हाम्रो समग्र स्वास्थ्य व्यवस्था प्रति नै आक्रोश पैदा हुने खालको थियो । त्यस समाचार आइसके पछि सर्वत्र विरोध भयो । संसद देखि सडकसम्म कुरा उठे तव छानविन आयोग नै बन्यो । कहिले काहीं आएका समाचार र लागेका आरोपहरु नै सत्य नहुन पनि सक्ने सत्य जस्तै त्यस प्रकरणको पनि छानविन भएर प्रतिवेदन नआउन्जेल धैर्य गरेर कुर्नु बान्छनीय होला भनेर बढो अधैर्यता पुर्वक धैर्य गरेर मैले पनि कुरें । जव कि त्यो समाचार आउने बित्तिकै मेरो आफ्नै अनुभवले गर्दा मलाइ सुरुमै लागेको थियो कि पक्कै पनि आएको समाचार सत्य हुनुपर्छ । तर पनि प्रतिक्रिया दिइन किन भने आग्रह पूर्वाग्रह र निजी अनुभवलाइ आधार मानेर समग्रतामा त्यसको व्याख्या गर्ने कामम किमार्थ उचित हुने थिएन भलै मेरो अनुभव पनि हाम्रो स्वास्थ्य व्यवस्थाको विडम्वना बुझ्न काफी नहुने खालको थिएन ।
कुरो आज भन्दै झन्डै सोह्र बर्ष अगाडीको हो जव आज अठार बर्ष टेकेर कलेज पढ्न भर्ना भएको मेरो छोरो डेढ बर्षको थियो । त्यतिबेला म रामेछाप जिल्लामा जागिरे थिएँ र कामको सिलसिलामै काठमान्डौ आएको थिएँ । मेरो भाइहरु पढ्दै भएकोले हाम्रो परिवारको लोकन्थलीमा बसाइ थियो । म बिहान खान खाएर लोकन्थली बाट बानेश्वर मात्रै के पुगेको थिएँ भाइ गौरवले आत्तिएको स्वरमा कल गर्यो र भन्यो “ दाइ तुरुन्त आउनु त छोरालाइ सन्चो भएन, एकदम ज्वरो आएको छ ” उसले त्यो भन्दा नभन्दै मेरो मोटरसाइकलले फन्को मारिसकेको थियो । हिड्ने बेलासम्म केहि नभएको छोरालाइ के भयो होला भनेर म अचम्म मान्दै हतार हतार फर्किएँ । जाने बित्तिकै आफैंले ज्वरो नापें एक सय चार ज्वरो छ । शनिवारको दिन थियो अनि अव कहाँ लाने त भन्दा बाल बालिकाको उपाचार गर्न कान्ति ठिक होला भनेर तत्काल ट्याक्सी लिएर कान्ति तर्फ लागियो । अस्पताल पुग्ने बेलासम्म छोराको अवस्था अत्यन्त चिन्ताजनक हुँदै थियो । घरि घरि आँखा नै नखोल्ने भैसकेको अवस्थामा हामि अस्पताल पुगेको थियौं । शनिवारको दिन भएकोले होला आकष्मिक कक्ष पनि भिड नै थियो । हामि धेरै बेर लाइनमा बसेर जव भित्र डाक्टर देखिने ठाउँमा पुग्यौं तव थाहा भयो कि डाक्टर त्यति संवेदनशील थिएनन । उनि बीच बीचमा अनावश्यक समय लिइरहेका थिए जसले गर्दा आकाश्मिक कक्षको उपचार ओपिडी भन्दा ढिला थियो । अनि त्यहाँ भैरहेको ढिलाई संगै यता मेरो छोरा भने झन झन सिकिस्त हुँदै थियो । म र भाइ थियौं संगै हाम्रो चिन्ता बढ्दो थियो अनि हामिले हामि भन्दा अगाडी लाइनमा भएको बच्चाहरुलाइ हेर्यौं कोहि पनि हाम्रो जस्तो अचेत देखिएको थिएनन तव हामिले डाक्टरलाइ हाम्रो बच्चालाइ अलिक छिटो हेरिदिन अनुरोध गर्ने निधो गर्यौं । बच्चाको अवस्था देखेर त्यहाँ रहेका सबैले हामीलाइ त्यसो गर्न अनुमति पनि दिए र म डाक्टरलाइ अनुरोध गर्न गएँ । जव मैले डाक्टरलाइ मेरो छोराको अवस्था गम्भीर भएको बताएर उसलाई हेरिदिन अनुरोध गरे तव उनले भने “ अस्पताल आउने बिरामी भएर नै हो , तपाईंले छिटो गर भनेर हुन्छ ?” मलाइ ति डाक्टरको अलमल ढिलासुस्तीले यसै पनि रिस उठेको थियो झन त्यस्तो असंवेदनशील बोलिले त दिमाग नराम्रो संग ततायो । तर त्यसबेला म एक तातो रगत भएको युवा कम र बिरामी छोराको बाउ ज्यादा थिएँ , सम्हालिनुको विकल्प थिएन । त्यसमाथि म भन्दा झन तन्नेरी मेरो भाइहरु समेत सम्हालिएर बसेका थिए । तर सायद भाइ घनश्यामले डाक्टरको रवैया र ढिलासुस्ती बुझेकोले अव ढिला गर्दा परिणाम नराम्रो हुनसक्छ भन्ने बुझेको थियो , त्यसैले उसले भन्यो दाइ यहाँ हुन्न्न अन्तै जाउँ । भाइको सल्लाह बमोजिम हामी निस्कियौं तर त्यो अवस्थाको छोरालाइ कहाँ लाने निष्कर्ष निकाल्न नपाउंदै ट्याक्सी चढ्यौं । तर हाम्रो चिन्ता र अन्योलता र त्यहाँको रवैया बुझेछन सायद ट्याक्सी वालाले उनले भने “ सर यहाँ त मान्छे मार्छन हजुर , नजिकै इशान बाल नर्सिङ्ग होम छ त्यहाँ लैजाउनुस” हामिले उनको सल्लाह मानेर इशानमा छोरालाइ लाग्यौं । त्यहाँ तत्काल उपाचार सुरु गरेर छोरालाइ केहि समयमै आशा लाग्दो ढंगले औषध उपचार गरे । हुन त त्यसै दिन मात्रै इशानमै हामिले दुइ पटक रात मै बाबुलाइ लग्नु पर्यो र अन्तिममा पूर्ण निको पार्ने काम चाहिं डाक्टर नभए पनि डाक्टर भन्दा ज्यादा अनुभवी स्वास्थ्यकर्मी श्रद्धय भिनाजुले गर्नु भएको थियो ।
खैर जे होस त्यस दिन मेरो जीवनकै स्मरणीय दिन बन्यो भने ति डाक्टर मैले देखेको भेटेको मध्य सबै भन्दा बेबकुफ असंवेदनशील डाक्टर र अमानवीय मानिस ठहर भए । उनको सौभाग्य र हाम्रो दुर्भाग्य ति बेबकुफको नाम मैले थाहा पाइन किन कि त्यसबेला तिनको नाम खोज्न तर्फ लागेर म छोराको उपाचारमा ढिला गरेर थप जोखिम लिन चाहन्न थिएँ । भलै त्यो काम एक बेवकुफ डाक्टरको थियो त्यसमा समग्र अस्पताल दोषी थिएन । तर उनको त्यो काम अनि “ याहाँ त मान्छे मार्छन” भन्ने ट्याक्सी ड्राइभरको भनाइमा भएको तादम्यताले गर्दा मैले फेरी कहिल्यै छोरालाइ कान्ति लाने बारेमा सोच्न पनि सकिन । अनि आज जे जसरि त्यस्तै बेवकुफीले गर्दा एक बालिकाको ज्याननै गएको सुन्दा मलाइ लागिरहेको छ कि ति बालिकाले पनि त्यस्तै बेवकुफहरुको बेवकुफीकै कारण ज्यान गुमाउनु परेको होला । खैर जे होस संवेदनशील हुनुपर्ने पेशामा रहेकाहरुको असमवेदंशिलता र जिम्मेवार हुनुपर्ने संस्थाहरुको गैरजिम्मेवारितामा अव चाहिं ब्रेक लागोस । कोहि कसैले समयमा सहि उपचार पाउनकै लागि यता बाट त्यता जान नपरोस भने समयमा उपचार नपाएर ज्यान गुमाउन त कसैले पर्दै नपरोस ।


