- ✍️ आचार्य अमृत
नेपाल शिक्षक महासङ्घको आह्वानमा असोज ३ गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनको घोषणा गरिएको छ । आन्दोलनमा पठनपाठन कार्य रोकिने कुरो स्वाभाविक हो । शिक्षकप्रति सकारात्मक दृष्टिकोण राख्ने कसैले पनि पठनपाठन रोकिएको कुरालाई लिएर कुनै विरोधको आवाज निकाल्दैन तर शिक्षकप्रति द्वेषभाव राख्नेहरूले यसैलाई मसला बनाएर चोक चोक, गल्ली गल्लीमा आफ्नो पाण्डित्य छाँट्नेछन्, छाँटेकै हुन् पहिलेका आन्दोलनहरूमा पनि । मैले नयाँ शिक्षकहरूलाई इतिहासको जानकारी हुन सकोस् भन्ने सदाशयले केही वर्षअगाडि १०४ दिने शिक्षक आन्दोलनका बारेमा स्पष्टसँग लेखेको पनि थिएँ र मसँग फेसबुकमा जोडिनुभएका साथीहरूले त्यो पढेर प्रतिक्रिया पनि लेख्नुभएको थियो । त्यो आन्दोलन २०३८ साल वैशाख ४ गते बिहीबारदेखि साउन १३ गते मङ्गलवारसम्म चलेको थियो र त्यसले ज्यादै महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको थियो । आज शिक्षकहरूले जुन सञ्चयकोष, उपदान, निवृत्तिभरण, औषधोपचार खर्च, बचत बिदाबाट प्राप्त हुने रकम पाइरहेका छन्/छौँ, त्यो त्यही आन्दोलनको परिणति हो ।
आन्दोलन गर्नेहरूको मुटु फलामले बनेसरहको हुनुपर्छ । त्यतिबेलाको सङ्घर्षमा निर्दलीय पञ्चायती सरकारले क्रूर दमन गरेको थियो । त्यतिबेला एउटै शिक्षक सङ्गठन थियो, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जसले २०३६/१२/२९ मा सरकारबाट मान्यता प्राप्त गरेको थियो । यदि अहिले पनि शिक्षकहरूको त्यही एउटा सङ्गठन मात्र रहिरहेको भए आज सरकारलाई शिक्षकले जे भन्यो, त्यही मान्नुपर्ने अवस्था आउँथ्यो । बहुदल आएपछि फुट्नु र फुट्तै जानु शिक्षकहरूका लागि विडम्बना मात्र होइन, महाविडम्बना हुन पुग्यो । कुनै राजनीतिक दलतिर नढल्कीकन आफ्नो पेसागत हकहितलाई केन्द्रबिन्दुमा राखेर एउटै मात्र सङ्गठन रहन्थ्यो भने आज केको महासङ्घ बनाइरहनुपर्थ्यो ? त्यसैले अजेय महासङ्घको काम गरिहाल्थ्यो नि । खोइ त, अमुक अमुक शिक्षकले काँध थापेर हिँडेका दलहरू सत्तामा छन् त, के ती अहिले शिक्षकमैत्री हुन सके ? सकेनन् र भोलि पनि हुने छैनन् । त्यसैले अब कुनै दलको झोला बोकेर होइन, स्वाभिमानपूर्वक शिक्षककै झोला बोक्नुपर्दछ । 'फुटाऊ र शासन गर' - यो सबै मुलुकका सबै सरकारको अभीष्ट हो । राजनीतिक दलैपिच्छे शिक्षकहरूका अलग अलग झुन्ड बनाएर हेप्ने कामलाई तिक्खर बनाइएको छ । शिक्षकजत्तिका मान्छेले पनि त्यति कुरा बुझ्न नसकेर मेरो दल र तेरो दल भन्दै हिँड्नु निश्चय नै भारी लज्जाको कुरो हो । म पूरै नभए पनि केही विश्वास के गर्दछु भने अब पुन: शिक्षकहरूको सङ्गठन जे नाम राखेर भए पनि सुरुमा जस्तै एउटै हुनुपर्छ । शिक्षक शिक्षक मात्र हो, त्योभन्दा अरू केही होइन भन्ने मान्यतालाई स्थापित गर्ने हो भने शिक्षकलाई कुनै शक्तिले पनि चलाएर विचलित पार्न सक्तैन, यो मेरो कहिल्यै नटुट्ने विश्वास हो ।
अनेक टुक्रामा टुक्रिएर शक्तिहीनजस्तै हुन पुगे पनि महासङ्घ बनाउने बुद्धि आएको हुनाले त्यो शक्ति एकीकृत भएकै छ । भोलिदेखिको आन्दोलनले पनि सफलता प्राप्त गरेरै छोडोस्, शुभकामना ।



















