काठमाडौँ, १२ कार्तिक । बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका-११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

शनिबार निजगढ नगरपालिकाबाट ८ बाट ज१२प ७१५४ नम्बरको मोटरसाइकलमा जीतपुरसिमरा उपमहानगरपालिका-१६ काँठगाटतर्फ जाँदै गर्दा सुनार दुर्घटनामा परेको बाराका प्रहरी उपरीक्षक एसपी सुशप्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकल सुनार आफैँले चलाएका थिए ।

मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्न जाने क्रममा ड्युटीको सिलसिलामा सुनार मोटरसाइकल दुर्घटनामा परेका एसपी काफ्लेले बताए । दुर्घटनामा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसक्दा थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएको थियो ।