विराटचोक,१२ मङ्सिर  । मोरङको उर्लाबारी नगरपालिका-७ मा घटनामा परेर गम्भीर घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका सोहि वडाका ४३ वर्षीय रामनरेश मारिताको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये उनको मृत्यु भएसँगै हालसम्म ५ जनाको मृत्यु भइसकेको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहाले जानकारी दिए । अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ।

यसअघि उर्लाबारी ७ कै  ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै  उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको डिएसपी दाहालले जानकारी दिए। 

लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो।  त्यसक्रममा घरको माथिल्लो तलामा बस्ने घरधनीको उद्धारका लागि प्रहरी पुगेको थियो। त्यहीबेला सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरैलाई आगाको लप्काले भेटेको थियो। 

बाटोमा उभिएकाहरूलाई पनि घाइते बनाउने गरी सिलिण्डर विष्फोट भएको थियो।