काठमाडौं,१९ मंसिर । रुसी सेनामा भर्ना भएका ६ जना जना नेपालीको ज्यान गएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म रुसी सेनामा भर्ना भएका ६ नेपालीको ज्यान गएको जानकारी प्राप्त भएको छ ।
मन्त्रालयले ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा १ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का पितम कार्की, दोलखाको मेलङ ६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका विज्ञप्तिमा जनाएको छ ।
पितम, राजकुमार र गंगाराजको २०२३ नोभेम्बर १५ (कात्तिक २९ गते भाइटीका) मा निधन भएको रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई मंसिर ८ मा पठाएको पत्रमा उल्लेख थियो ।
फेरि थप ३ जनाको पनि निधन भएको परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको छ । नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह समेत गरेको छ ।
रुस मात्र नभएर युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन पनि मन्त्रालयले आग्रह गरेको छ ।





















