काठमाडौं, २१ असार । शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुतोको कथा सुनाए ।
कथा सुनेर नेता र कार्यकर्ता राम्रै गरी हाँसे । सोही अवसरमा प्रधानमन्त्रीले बाबुराम भट्टराईप्रति व्यङ्ग्य गर्दै डिग्रीले क्रान्ति नगर्नेसमेत उल्लेख गरेका थिए । निष्टा र दृष्टिकोणले मात्र क्रान्ति हुने उनको तर्क थियो ।
‘नेपालमा पीएचडी गरेका थुप्रै छन् । तर, एक जना मात्र पीएचडी गरेजस्तो डाक्टर..डाक्टर..डाक्टर..’ बाबुरामप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले भने । यही विषयप्रति व्यङ्ग्य गर्दै बाबुरामले साँझ ज्योतिषीको कथा सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीले सुनाएको भ्यागुतोको कथा
एउटा भ्यागुताकी बच्ची घुम्न गइछ। पाठो देखिछ । अनि कुवामा गएर आमालाई भनिछ, ‘आमा यत्रो ठूलो जनावर देखें ।’ भ्यागुतीले भनिछ, ‘कसरी हुनसक्छ म भन्दा ठूलो ?’ आमाले भुँडी फुलाउँदै भनिछ, ‘यत्रो थियो ।’ होइन । ‘यत्रो थियो ।’ होइन । अझ भुँडी फुलाउँदै यत्रो थियो । हो…।
प्रधानमन्त्रीको यही कथाप्रति कटाक्ष गर्दै बाबुराम भट्टराईले सामाजिक सञ्जालमा ज्योतिषीको कथा सार्वजनिक गरेका हुन् । आफैंले कक्षा तीनमा पढेको घमण्डी भ्यागुतोको कथा भनेर ओलीले स्रोता हँसाएको भन्दै बाबुरामले निदुली बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी भए भन्ने कथा सुनाएका हुन् ।
बाबुरामले ट्वीटरमा सार्वजनिक गरेको ज्योतिषीको कथा जस्ताको तस्तै :
हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनु भएछ ! त्योसंगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाई दिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि ? कथा यस्तो छ–निदुली बाहुन साँझमा ससुराली पुगेछन् ।
सासू भित्र सेलरोटी पकाउँदै रहिछन् । ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् ! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् !
ज्वाइँले भनेछन्, ‘रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार? ’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन् । गाउँमा धोबीको गधा हराएको रहेछ । धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन् ! अब पर्यो फÞसाद ! भोलिपल्ट बिहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन् ।
भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् ! के खोज्छस् दृष्टिविहीन,आँखा ! ज्वाइँ ससुराली घर फर्केर सुतेछन् ! भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताए छन् ! अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ । राजाले दरबारमा बोलाएछन् र हराएका हीरा जवाहरत पत्ता लगाउन भनेछन् । बस्न कोठा दिएछन् ! अब पर्यो महाफसाद !
भागौं,पहरा छ ! कोठामै बर्बराएछन् ‘रोटी गनीगनी जैसी कहाएँस धोबीको गधा उखुवारी पाएँस अब आयो निदूली तेरै काल !’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ ! उसको नाउँ पनि निदूली रहेछ ! उसले रूँदै आएर भनिछ, ‘बाजे मेरो ज्यान बचाई दिनोस्, हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु । ’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन ! अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो !



















