विराटचोक,२३ पुस ।  मोरङको  सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा  विश्वविद्यालय अनुदान आयोग नेपालको समकक्षी पुनरावलोकन गर्ने विज्ञटोलीले सोमबार दोस्रो दिनको छलफल‚ अन्तर्क्रिया‚ अनुगमन र अध्ययनको काम सम्पन्न गरेको छ ।

अध्ययन टोलीका प्रमुख तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँ‚ सदस्यहरू क्रमशः प्रा.डा. सुशिलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोग क्युएए डिभिजनकी डेपुटि डाइरेक्टर  भगवती पौडेलले पहिलो चरणमा स्नातक र स्नातकोत्तर तहका १०० भन्दा बढि विद्यार्थीहरू सँग क्याम्पसका विषयबस्तुमा छलफल तथा अन्तर्क्रिया गरेका  थिए ।

दोस्रो चरणमा विज्ञटोलीले पूर्वविद्यार्थी समाजका ५० भन्दा बढि सदस्यहरू तथा प्रतिनिधिहरू सँग क्याम्पसका लागि पूर्वविद्यार्थीहरूको योगदान र कार्यक्रमका विषयमा छलफल गरेका थिए । तेस्रो चरणमा क्याम्पसबाट उत्पादित जनशक्तिलाई रोजगारी दिने रोजगारदाता सङ्घ/संस्था‚ उद्योग‚ व्यापारिक प्रतिष्ठान‚ सहकारी एवम् वित्तिय निकायका ४५ जना प्रतिनिधिहरू सँग विद्यार्थीको रोजगारीका विषयमा छलफल गरेका थिए भने चौथो चरणमा पठनपाठन‚ परीक्षा‚ शिक्षणमा प्रविधिको प्रयोग‚ पेशागत सन्तुष्टि‚ वृत्तिविकास‚ अध्ययन अनुसन्धानका विषयमा ८० जना शिक्षकहरू सँग छलफल र अन्तर्क्रिया भएको थियो ।

5e11d5d5-1249-4caf-a361-f5b73d557385पाचौँ चरणमा क्याम्पसमा रहेका विभिन्न विषयगत विभागीय समितिका १३ जना विभागीय प्रमुखहरू शिक्षण योजना‚ विद्यार्थी मूल्याङ्नक तथा पृष्ठपोषण‚ शिक्षण लगबुक‚ अभिलेखीकरण पेशागत सन्तुष्टि‚ वृत्तिविकास‚ अध्ययन अनुसन्धानका विषयमा छलफल र अन्तर्क्रिया भएको थियो ।

छैटौँ चरणमा विज्ञटोलीले क्याम्पसमा रहेका विभिन्न समिति‚ उपसमिति‚ एकाइ‚ सर्कल‚ क्लवले पुर्याएका योगदान र क्रियकलापका ती समितिका प्रमुख र सदस्यहरू सँग छलफल र अन्तर्क्रिया गरेको थियो । सातौँ चरणमा विज्ञटोलीले क्याम्पसका विभिन्न फाँट तथा शाखाको अनुगमन गरी अभिलेखको प्रमाणीकरण गरी दोस्रो दिनको कार्य सम्पन्न गरेको छ । 

टोलीले विहान ८बजे देखि अपरान्ह ५ बजेसम्ममा दोस्रो दिनको कार्यतालिकाअनुसारको काम सम्पन्न गरेको र मङ्गलबार तेस्रो दिनको काम पूर्वनिर्धारित समयमा नै हुने कुरा सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी गराएका छन् ।