विराटचोक,२५ पुस । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा दोस्रो चरणको क्युएए (QAA) नविकरणका लागि विश्वविद्यालय अनुदान आयोग नेपालले क्याम्पसको गुणस्तर‚ भौतिक‚ शैक्षिक‚ सामाजिक र व्यवस्थापकीय पक्षहरूको निरन्तर मूल्याङ्कन गरिहरेको छ ।
बुधबार चौथो दिन अनुदान आयोग नेपालबाट त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाको नेतृत्वमा प्रा. डा. सुशिलभक्त माथेमा‚ प्रा.डा. रेजिना मास्के र अनुदान आयोगकी क्युएए डेपुटि डाइरेक्टर भगवती पौडेल समेत रहेको विज्ञटोलीले वभिन्न पक्षहरूको शुक्ष्म मूल्याङ्कन गरेको छ ।
पुस २२ गते देखि क्याम्पसमा आएको अनुदान आयोगको टोलीले क्याम्पस सञ्चालक समिति सँग क्याम्पसको दूरदृष्टि‚ गन्तव्य‚ रणनीति‚ कार्ययोजना‚ नीति तथा कार्यक्रम‚ शैक्षिक कार्यक्रम‚ बजेट‚ दीर्घकालीन योजना‚ दिगोपन आदि विषयमा सघन छलफल गरेको थियो ।
टोलीले मूल्याङ्कन‚ छलफल र अन्तर्क्रियाका सबै कामहरू सम्पन्न गरिसकेको र विहिबार विहान ८:३० बजे प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम रहेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी गराएका छन् ।



















