- भगवती अर्याल

विराटचोक,४ माघ । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको टोली बङ्गलादेशका विभिन्न विश्वविद्यालयहरू र क्याम्पसहरूको अवलोकन भ्रमणमा रहेका छन् । भ्रमणको क्रममा बङ्गलादेशको राजधानी ढाकामा रहेको युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस (UITS) र सुकुना बहुमुखी क्याम्पसबीच शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा सम्बन्ध विकास र विस्तार गर्ने विषयमा एक सम्झौता भएको छ ।
सन् २०२४ जनवरी १८ का दिन ढाकामा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले र युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस (UITS) ढाका‚ बङ्गलादेशको तर्फबाट सो विश्वविद्यालयका उपकुलपति प्रा.डा. महमद अब्बु हसन भुईँयाले हस्ताक्षर गरेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए ।
सम्झौताअनुसार दुबै शैक्षिक संस्थाहरूले एकआपसमा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने‚ विद्यार्थी तथा शिक्षक आदान प्रदान गरी सम्बन्ध समधुर गर्ने र प्रकाशनका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता आदानप्रदान कार्यक्रममा उक्त विश्वविद्यालयका रजिष्ट्रार‚ आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख‚ शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी सुकुना क्याम्पसको भ्रमण टोलीले ढाका स्थित नेपाली राजदुत घनश्याम भण्डारी सँग भेटगरी बङ्गलादेशले क्याम्पसको शैक्षिक‚ भौतिक‚ प्राविधिक र अनुसन्धानका क्षेत्रमा पुर्याउने सहयोगका सम्भावनाहरूका विषयमा छलफल समेत गरिएको भ्रमण टोलीमा रहेका क्याम्पस क्याम्पस सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
जनवरी १६ देखि जनवरी २२ सम्मका लागि बङ्गलादेश भ्रमण टोलीमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी‚ उपाध्यक्ष ललितबहादुर श्रेष्ठ‚ लेखा समितिका संयोजक चन्द्रप्रसाद फुयल‚ पुनरावेदन समितिका संयोजक उमेश वस्ती‚ क्याम्पस प्रमुख अर्जुनराज अधिकारी लगायत सञ्चालक समितिका सदस्यहरू‚ शिक्षक तथा कर्मचारीहरू रहेका छन् ।
कोशी प्रदेश कै ठुलो शैक्षिक सँस्था सुकुना बहुमुखी क्याम्पसले भारत स्थित आसाम डाउन टाउन विश्वविद्यालय गुवाहाटी‚ बङ्गलादेश स्थित युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस (UITS) ढाका र काठमाडौँ विश्वविद्यालय सँग पारस्पारिक सहयोग आदान प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भइसकेको छ । क्याम्पसले यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै आफ्ना अनुभवहरूलाई परिपक्व बनाउनु खुशीको विषय हो ।




















