- भूमिप्रसाद पाठक
पथरी,२६ माघ । मोरङको पथरी जेसीजले भारतमा बिचल्ली परेका स्थानिय एक जनाको उद्वार गरी परिवारसँग पुनर्मिलन गराएको छ । पथरीशनिचरे ८ का लोकबहादुर घिताललाई पथरीशनिश्चरे -८ का वडाध्यक्ष नवीनजंग कार्की र पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्मा सहितको टोलीले आज परिवारसँग पुनर्मिलन गराएको हो ।
धिताललाई मेची पुलबाट सम्पर्क गरी परिवार सँग भेट गराइएको पथरी जेसीजका अध्यक्ष विश्वकर्माले जानकारी दिए । हराएका धिताललाई भेटेर पुनर्मिलन गराएपछि यतिखेर गाउँमा खुशियाली छाएको छ ।
करिव एक वर्ष अघिदेखि रोजगारीको लागि भारतको कोलकत्ता गएका उनी परिवारसँग सम्पर्क बिहिन भएका थिए । भारतको पश्चिम बंगाल, कलकत्तामा रहेको श्री जानकी माता नेपाली धार्मिक संघका प्रतिनिधि गोपाल लाल टैगोरले उनलाई बिचल्ली अवस्थामा फेला पारेका थिए। त्यसपछि संस्थाले उनलाई उद्दारगरी झापाको मेचीनगर स्थित मेची पुलमा ल्याई दिएको थियो ।
परिवारसँग पुनर्मिलन गराई दिन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जानकी माता नेपाली धार्मिक संघका गोपाललाल टैगोरलाई पथरी जेसीजलेआज एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
हराएका धिताललाई उद्दार गरी नेपाल सम्म ल्याईदिने संस्थाका गोपाल लाल टैगोर , जेसिज परिवार तथा वडाध्यक्ष कार्कीलाई धिताल को परिवारले धन्यवाद समेत दिएका थिए ।




















