बिराटनगर– नेकपा माओवादी केन्द्र कोशीका कोषाध्यक्ष गगन पुरी (रेवतराज)लाई सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले दोषी करार गरेको छ। उनको जेल सजाय भने तोक्न बाँकी छ। 

आफूलगायत परिवारका नाममा थामिनसक्नु सम्पत्ती जोडेका उनलाई विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको थियो। 

पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा यस्तो आदेश भएको हो।

नेतृत्वको नजिक रहेका उनले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेको छानबिनका क्रममा खुलेको थियो। 

पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो। विशेष अदालतले उनीहरू सबैलाई कसुरदार ठहर गरेको छ। 

मुद्दा चलिरहेका बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए।

केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो।

देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो छ । सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको थियो।

दमक नगरपालिका–८मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ। त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए।

पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री–वितरण गरेको विभागको अनुसन्धानले देखाएको थियो। 

विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो।