इटहरी– सीमावर्ती क्षेत्र हुँदै नेपालमा नक्कली नोटको कारोबार गर्ने गिरोहमाथि सुनसरी प्रहरी उपरिक्षक (एसपी) विपिन रेग्मी निक्कै भारी देखिएका छन्। 

सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद भएको थियो। यो प्रकरणको गहिरो अनुसन्धान र कनेक्शनको खोजी कार्य जारी राखिएको छ।

नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला बीरपुर बस्ने २२ वर्षीया छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यद्यपि, यस काममा उनी साधारण भरिया मात्र हुन सक्नेतर्फ पनि प्रहरीको अनुसन्धान सोझिएको छ। 

किनभने अर्का एक जना फरार रहेका छन्। यो रकम र केही समयअघि इटहरीमा समातिएको १४ लाख रुपियाँ नक्कली नोट कारोबारीको सम्बन्धका विषयमा पनि प्रहरीले गम्भिर अनुसन्धान जारी राखेको उच्च स्रोतले नेपालपूर्वलाई जानकारी दियो। 

इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो। २०७९ भदौ २६ गते झापा विर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी थिएन्। पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहेपनि विर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन्।

यस्तै प्रहरीले २०७९ असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट पनि बरामद गरेको थियो।

सीमावर्ती जिल्लामा सहज तरिकाले भित्राउन सकिने भनी भारतीय स्थलमार्ग हुँदै नक्कली नोट कारोबारी सक्रिय रहेको विषयमा प्रहरीले निगरानी कायम राखेको छ।

‘यो गिरोह सामान्य भने नरहेको प्रहरीको ठम्याई छ। यसमा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले पनि छानबिन गर्नेछ’, प्रहरी कोशीका उच्च अधिकारी भन्छन्,‘नयाँ–नयाँ क्लु पनि भेटिएका छन्। अनुसन्धान जारी छ।’

सुनसरी प्रहरी प्रमुख रेग्मी आएपछि नक्कली नोट कारोबारीलाई निरन्तर पक्राउ गरिरहेका छन्। उनी यस्ता कारोबारीमाथि भारी हुन थालेका छन्।