विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डल्लीराज शर्माले अतिथि प्राध्यापकका रुपमा शिक्षण कार्य सम्पन्न गरेका छन् ।
क्याम्पसका बिबिए र एमबिएसका विद्यार्थीहरूलाई डीन शर्माले आइतबार विहान ७ बजे देखि अपरान्ह ४ बजेसम्म अतिथि प्राध्यापकका रुपमा शिक्षण कार्य सम्पन्न गरेका हुन् ।
विहान एमबिएस प्रथम र द्वितीय सिमेष्टरका विद्यार्थीहरूलाई सिमेष्टर प्रणालीमा शिक्षक र विद्यार्थीले गर्नु पर्ने कार्यहरू, मूल्याङ्कन पद्दति, शिक्षण विधि, परियोजना कार्य, खोज तथा अनुसन्धान, अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन, रोजगारीको सिर्जना, बजारीकरण, पाठ्यक्रमको कार्यन्वय, नेतृत्व विकास, श्रम बजारमा व्यवस्थापन विषयका विद्यार्थीहरूको पहुँच र व्यक्तित्व विकासका तरिकाका विषयमा अभिमुखीकरण गरेको सुकुना क्याम्पसको सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानाकारी दिएका छन् ।
त्यसैगरी विहान ११ बजे देखि प्रा.डा. शर्माले बिबिए तर्फ प्रथम, तेस्रो, चौथो र छैटौँ सेमिष्टरका विद्यार्थीहरूलाई केस स्टडि, परियोजना कार्य, प्रतिवेदन लेखन, सर्भे, खोजकार्यको प्रस्तुतीकरण, अध्ययन तथा शिक्षण विधि, मूल्याङ्कन पद्दति, व्यक्तित्व विकास गर्ने तरिका, समय व्यवस्थापन र विश्व बजारमा व्यवस्थापन विषयको सम्भावनाका विषयमा अभिमुखीकरण गरी बिबिए कार्यक्रमलाई प्रभावकारी बनाउन उत्प्रेरित गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानाकारी गराएका छन् ।
दुबै सत्रका कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, सदस्य सुरेन्द्रबहादुर थापा, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी लगायत ती कार्यक्रमहरूमा प्राध्यापन गर्ने शिक्षकहरूको उपस्थिति रहेको थियो ।
दुबै सत्रका कार्यक्रमहरूमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले परम्परागत शिक्षण पद्दतिलाई प्रतिस्थापन गरि उच्चस्तरको नतिजा हासिल गर्न क्याम्पसले गर्ने कार्यहरू बताउँदै गुणस्तर अभिवृद्धिका लागि क्याम्पसले अहोरात्र लागिरहने प्रतिवद्धता जनाए ।
दुबै सत्रका कार्यक्रममा अतिथि प्राध्यापक प्रा.डा. शर्माले विद्यार्थीहरू सँग छलफल, अन्तर्क्रिया र प्रश्नोत्तर गरेका थिए । विहानी सत्रको कार्यक्रमको सञ्चालन उपप्राध्यापक गुणराज नेपाले र दिवासत्रको कार्यक्रम बिबिए डाइरेक्टर शझ्कर देवानले गरेका थिए ।




















