• अम्बिका भण्डारी 

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको टोली फागुन ९ गतेबाट जङ्गल यात्रामा छ ।  मुख्यमन्त्री कार्कीसँगै प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेलगायत दर्जनौँ सुरक्षाकर्मी, कर्मचारी र सत्तासीन गठबन्धनका नेता कार्यकर्ताको हुद्दा हात्ती प्रभावित क्षेत्रको पदयात्रामा सामेल छ ।

हात्तीको परम्परागत बाटो मानिने चुरे फेदी क्षेत्रमा  झापाको बाहुनडाँगी, प्रसादे गौँडाबाट उदयपुरको कटारी, बेलसोतसम्मको पैदल यात्रामा हात्तीबाट स्थानीयले पाएको सास्ती, हात्ती र मानव दुवैको संरक्षण गर्ने उपाय मानव–हात्ती द्वन्द्व न्युनीकरण तथा नागरिकका आम समस्या समाधानका उपाय खोज्ने भनिएको छ । तर "हात्ती आयो हात्ती आयो फुस्सा" भनेझैँ भएको छ पैदलयात्रा ।

"प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्रा" नाम दिइएको पैदलयात्रामा एक दुई जना हात्ती विज्ञ त छन् तर त्यत्रो तामझाम र खर्च गरिएअनुसार यात्राको खासै मिसन छैन । पदयात्राको नारा पनि हाँस उठ्दो छ - जसको जङ्गल, उसको मङ्गल, जसमा जङ्गल र मङ्गलको भाका (लय) मिलाउने बाहेकको अर्थ देखिँदैन ।

Untitled-2 (6) 42हुन त मुख्यमन्त्रीले हात्तीले हैरानी बेहोरेका, आफन्त गुमाएका, घर भत्काएका र अभाव भोगेका अनि हात्तीबाट मारिएका व्यक्तिका परिवार र हात्तीबाट विभिन्न हिसावले पीडित भएका केही जनतालाई पनि नभेटेका होइनन् तर आफ्नो प्रदेशमा कति हात्ती छन् वा आवतजावत गर्छन् अनि हात्तीबाट पीडित जनता कति छन् भन्ने यकिन तथ्याङ्क स्वयं मुख्यमन्त्रीलाई पनि थाहा छैन । 

मुख्यमन्त्री केदार कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती लगायतको टोली खुट्टामा घाउ लिएर ब्याण्डेज बाँधेर हिँडेको छ, उदाहरणीझैं लाग्छ तर, अर्थबिहिन छ हिँडाइ ।

पर्यटन तथा वन  मन्त्रालयका सचिव विशाल घिमिरे चाहिँ पैदल यात्रा निरन्तर गर्न नसक्ने भएपछि आकलझुकल हिँडेर गाडीमै दौडिरहेका छन् ।  मुख्यमन्त्रीको टोलीमै भएपनि सवारी साधनमा यात्रा गरेर पैदलयात्राको फुइँ लगाउने पनि थुप्रै छन् ।

पैदल यात्रा गरिरहँदा मुख्यमन्त्रीले यात्राका दर्जनौं मिसन बनाउन सक्थे । अहिले जति खर्च गरिएको छ, त्यही खर्चमा गरिबी न्युनिकरण, वातावरण संरक्षण, रोजगारी लगायत अनेक क्षेत्रका बिज्ञ यात्रामा समावेश गर्न सक्थे तर केवल बन्यो हात्ती मिसन मात्रै । पुर्वमा थुप्रै हात्ती डुलिरहेका छन् तर मुख्यमन्त्री र हात्तीको देखादेख हुन पाएन ।

अगाडिपछाडि करिव  दुई दर्जन सुरक्षाकर्मीको टोलीको बिचमा केहि सरकारी र सचिवालयका कर्मचारीसँगै रहेका  मुख्यमन्त्रीको टोलीलाई बाटोमा पर्ने स्थानीय तहका जनप्रतिनिधि र वन समितिका पदाधिकारीहरुले पनि साथ दिँदै आएका  छन् । यात्रामा हिड्ने टोलीलाई खानपिनको ब्यबस्था गर्न प्रदेश सरकारको बजेट खर्चिएर बेलबारीका  एक ठेकेदारलाई जिम्मा दिइएको छ । यात्रा लम्बिँदै जाँदा सरकारी टोलीका सदस्यहरु कम र सुरक्षाकर्मीहरु बढी हुँदै गएका छन् । 

पदयात्रा २ सय ४३ किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा फागुन १६ गते समापन गर्ने योजना गरिएको छ ।

 यति बुझ्न पैदलयात्रा नै गर्नुपर्थ्यो र ?

पहिले हात्ती करिडोर बनाएर पर्यटन प्रबर्द्धन गर्ने र त्यहाँका बासिन्दालाई मुआब्जा दिएर स्थान्तरण गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताउँथे । तर यात्रापछि भने मुख्यमन्त्री कार्कीले कुरा फेरेका छन् । हात्ती हिँड्ने बाटो आसपास बसेको बस्ती हटाउने सरकारको योजना नभएको उनले बताउन थालेका छन् । मुख्यमन्त्रीले संचारकर्मीसँग भनेका छन् ‘मानब बस्ती स्थान्तरण गने भनेको हैन’, त्यहाँका घरमा बस्ने नागरिकलाई सचेत बनाउने, घरको बिमा गर्ने र बाली विमा गरेर हात्तीमैत्री वातावरण बनाउने हो ।" पैदलयात्राका क्रममा शनिबार मोरङको केराबारी ९ कुसुमेमा आएर मुख्यमन्त्री कार्कीले भने - "जे जे गरेपनि हात्ती नियन्त्रण गर्म सकिदैन, हात्तीका लागि मैत्रीपूर्ण वातावरण बनाउन मात्रै सकिने रहेछ ।"  

 संघीय सरकारले दिने राहतमा ढिलाई भएको गुनासो आइरहँदा आगामी बजेट, नीति र कार्यक्रममा हात्ती प्रभावित क्षेत्रको समस्या सम्बोधन हुने मुख्यमन्त्री केदार कार्कीले  बताएका छन् । तर भारतबाट आएका तीन चार दर्जन हात्तीले यसैपाली आधा दर्जन मान्छेको ज्यान लिएको र करोडौं बराबरको बालीनाली बिगारेको महिनौं भइसकेको र जनताले राहत नपाएको सन्दर्भमा  'आगामी बर्षको निति कार्यक्रममा हात्ती प्रभावित क्षेत्रको समस्या सम्बोधन गर्छु' भन्ने मुख्यमन्त्री केदार कार्कीको घोषणा ' पोहोर मरिन् सासु, अहिले झरे आँसु' भनेझैं हुनेछ ।

सिङ्गो प्रदेशको बागडोर सम्हालेका मुख्यमन्त्री विभागीय मन्त्री र सचिव लगायतको टोली लिएर पदयात्रा गरिरहँदा प्रदेशको कामकाज त प्रभावित भएकै छ, पदयात्रा पनि "अर्थ न बर्थ गोविन्द गाई" भएको छ ।