विराटचोक- मोरङको सुन्दरहरैँचा १० विराटचोक स्थित द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलमा सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ। 

पूर्वकै ख्यातिप्राप्त सञ्चारकर्मी तथा प्रशिक्षक केपी घिमिरेद्वारा विद्यालयमा अध्ययनरत जम्मा २० जना इच्छुक विद्यार्थीलाई तालिममा सहभागी गराएर उद्घोषण, भाषण कला र नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिएका छन्। 

विद्यालयमा यही फागुन १९ गते आयोजना हुने ३२औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा  उक्त तालिममा सहभागी विद्यार्थीबाट नै उद्घोषण गर्ने गरि तयारी गरिएको प्रिन्सिपल गोपालप्रसाद पाठकले बताए।

विद्यालयको उक्त कार्यक्रममा नेपाली साङ्गीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका प्रतिष्ठित गायक हेमन्त शर्माको समेत साङ्गीतिक प्रस्तुति रहने छ। कार्यक्रममा अभिभावक, विद्यार्थी र स्थानीय कलाकारले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने र आमा नृत्य प्रतियोगिता समेत हुने भाइस प्रिन्सिपल परशुराम गुरागाईँले बताएका छन्। 

लोकप्रिय नायिका रेखा थापाले समेत अध्ययन गरेको उक्त विद्यालयमा गुणस्तरीय पढाइलेखाइका अतिरिक्त खेलकुद, नृत्य, गायन, उद्घोषण कला, शैक्षिक भ्रमण, छात्रवृत्ति तथा अन्य सबैप्रकारका शैक्षिक एवम् नैतिक गतिविधि हुने गरेको शिक्षक मिलन भट्टराईले बताए।