विराटनगर - पोल्यान्डमा  एक नेपाली युवाको आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट हत्या भएको छ । रोजगारीको शिलशिलामा पोल्यान्ड पुगेका साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहालको हत्या भएको हो ।

एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेको एनआरएनए पोल्यान्डका सचिव उदयराज गिरीले जानकारी दिए ।   छुरा प्रहार लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियाे । दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्यान्ड गएका थिए। 

राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै सचिव गिरीले जानकारी दिए । हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।

मृतक दाहालको शव परीक्षणका लागि अस्पतालमा राखिएको र उनको निधनबारे परिवारलाई जानकारी गराइसकिएको गिरीले बताए। दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शव नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्नेबारे परिवारसँगको परामर्शपछि सहजीकरण गर्ने उनको भनाइ छ।