पथरी - मोरङको पथरीशनिश्चरे -१ मा रहेको अन्नपूर्ण बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी अभिभावक दिवस तथा ३३ औं वार्षिकोत्सव मनाएको छ । विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै स्कुलले वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, विद्यालयका निर्देशक मदन बहादुर थापा मगर, नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी, लगायतले पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राई, वर्तमान वडा नं -१ का वडाध्यक्ष भीमकुमार राई, अभिभावक संघका अध्यक्ष हेम श्रेष्ठ, दोसल्ला ओढाई सम्मान गरिएकाे थियाे।
स्कुलका निर्देशक मदनबहादुर थापा मगरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयमा कार्यरत् शिक्षिका अन्जना घिमिरेलाई नगद १० हजार रुपैयाँ सहित बेष्ट टिचर सम्मानबाट सम्मानित गरिएको छ । विद्यालयमा अध्ययनरत् निश्चल विकलाई 'बेष्ट सिंगिङ अवार्ड'द्वारा सम्मान गरिएको छ । विद्यालयले विभिन्न कक्षाका उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्राहरुलाई खादा ,अबिर र प्रमाण पत्र प्रदान गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल वीरेन्द्र गुरुङले विद्यालयका वार्षिक शैक्षिक उपलब्धि सहित कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सोहि अवसरमा विद्यार्थीहरुले नृत्य, गीत, प्रहर्शन, उद्घोषण तथा वक्तृत्वकला आदि विभिन्न विधाहरूमा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।



















