नयाँ दिल्ली - भारतमा ५३ ओटा डब्बाको मालवाहक एउटा रेल चालक बिना नै ८४ किमी गुडेको छ । गत साता आइतबार बिहान बिहान जम्मुबाट पन्जाब जाँदै गरेको मालवाहक रेल चालक बिना नै आफै गुडेको हो । भारतमा भएको यो घटनाले हलचल मचाएको छ । रेलको इन्जिन स्टार्ट भइरहेको बेला चालक र सहचालक कठुआ स्टेशनमा चिया पिउन उत्रिदा चालक दलले रेलमा ब्रेक लगाउन बिर्सेपछि भिरालो ठाउँ भएका कारण रेल गुडेको थियो ।
रेल आफैँ गुडेको थाहा पाउने बित्तिकै जम्मु रेल्वे स्टेशनका निर्देशक र डिभिजन ट्राफिक म्यानेजर दौडिएर काथुवा स्टेशन तिर लागे । सारा कर्मचारीहरूलाई परिचालन गरियो । चालक बिनाको रेल गुडेपछि बाटोमा पर्ने सबै स्टेशनहरुलाई अलर्ट गराएर उक्त रेलका लागि बाटो खुला गराइएको थियो । कयौँ स्टेशनहरु रेललाई रोक्ने प्रयास गरिएपनि प्रयास असफल भयो ।
गुड्न थालेको उक्त रेल करिव २ घण्टाको प्रयास पछि रोकिएको थियो । करिब ८४ किलोमिटर गुडिसकेपछि पन्जाबको उच्ची बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भएको बताइएको छ । सामाजिक सञ्जालहरुमा चालकविहीन रेल गुडिरहेको भिडियोहरू भाइरल भएका छन् ।
उक्त घटनामा सो रेलका दुई जना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ । निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी पनि छन् । भविष्यमा यस्ता खालको घटनाहरू घट्न नदिने स्थानीय स्तरमा र उच्चस्तर दुवै तिर छानबिन सुरु गरिएको छ । एजेन्सी



















