विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा तीन दिने विज्ञान‚ प्रविधि र व्यवसायिक प्रदर्शनी सुरु भएको छ । क्याम्पस प्राङ्गणमा भएको उक्त प्रदर्शनीको कोशी प्रदेशका उद्योग‚ कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले रोवर्टबाट रिवन काटेर उद्घाटन गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि मन्त्री खत्रीले कार्यक्रमको सफलताको कामना गर्दै व्यवसायिक क्षेत्रले गर्ने व्यापार प्रदर्शनीभन्दा क्याम्पसले बहुआयामिक क्षेत्रमा गरेको प्रदर्शनी अब्बल रहेकोमा सन्तोष व्यक्त गरे ।
त्यस्तै बेलबारी नगरपालिकाका नगरप्रमुख डिपि राईले विद्यार्थीले गरेको सिर्जना‚ त्यसको सुव्यवस्थित प्रस्तुति र व्यवसायीहरूको सक्रिय सहभागिता यस ठाउँका लागि नौलो भएकोमा आफू प्रभावित भएको बताए ।
त्यसैगरी उद्घाटन समारोहमा पूर्व राज्यमन्त्री राजकुमार ओझा,सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ,लेटाङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम बराल,सुविजिमुर माध्यमिक विद्यालयका प्रिन्सिपल गोविन्द कार्की,लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले एसएमसी इनोवेक्स २०८० को औचित्य प्रष्ट्याउँदै फागुन २१‚ २२ र २३ गतेसम्म प्रदर्शन गरिने कार्यक्रममा अलोकन गर्न सबैलाई आमन्त्रण गरेका थिए । उद्घाटन सत्रको कार्यक्रममा विद्यार्थीको तर्फबाट बिबिए छैटौँ सिमेष्टरका विद्यार्थी एवम् प्रदर्शनी व्यवस्थापन समितिका संयोजक एलिस ओझा र क्याम्पसको तर्फबाट सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रमको सबै व्यवस्थापन क्याम्पसका बिबिए‚ बिएस्सि‚ बिएड विज्ञान‚ बिबिएस‚ बिएड र बिएमा अध्ययनरत विद्यार्थीहरूले गरेका छन् । विज्ञान‚ प्रविधि र व्यवसायिक क्षेत्रका ५० स्टलहरू कायम गरिएकोमा पहिलो दिन १५ हजारभन्दा बढि सहभागीहरूले अवलोकन गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले बताए ।
त्यसैगरी बिबिएकी छात्रा रोजिना राउतले सञ्चालन गरेको प्यालन छलफलमा युवा व्यवसायी उत्सव थापा र रोमन कट्टेलले सीप सिर्जना तथा व्यवसायिक सफलताका अनुभवहरू प्रस्तुत गरी सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा अपरान्ह ३ बजे पछि सांस्कृतिक कार्यक्रम सहित पहिलो दिनको प्रदर्शनी समापन भएको उपप्राध्यापक खगेन्द्रराज दहालले जानकारी दिए । उक्त प्यानल छलफलमा २०० भन्दा बढि विद्यार्थीहरू सहभागी भएको जानकारी अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिए ।
कार्यक्रममा जनप्रतिनिधिहरू‚ क्याम्पसका विद्यार्थी‚ प्राध्यापक तथा कर्मचारीहरू‚ अभिभावक‚ सामुदायीक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरू‚ स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सञ्चालन बिबिए छैटौँ सिमेष्टरका विद्यार्थीहरू क्रमशः देवराज पौडेल र प्रेक्षा अधिकारीले गरेका थिए । उक्त फागुन २१ गतेदेखि सुरुभएको कार्यक्रम २३ गते अपरान्ह ५ बजेसम्म सञ्चालन हुने छ ।





















