धनकुटा  —  धनकुटाको चौबिसे गाउँपालिका स्थित  राजारानीमा जेठ १० देखि १६ गतेसम्म रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको रारा फुटबल क्लबका निवर्तमान सचिव युवराज कटुवालले जानकारी दिए। प्रतियोगिताको यो ११ औं संस्करण हो। यसअघि गत वैशाख २२ देखि २८ गतेसम्म १० औं संस्करणको प्रतियोगिता गरिएको थियो। सो प्रतियोगितामा २९ लाख ६४ हजार ६ सय २० आम्दानी र २७ लाख ५७ हजार ३ सय ८० रुपैयाँ खर्च भएको विवरण आयोजकले सार्वजनिक पनि गरेको छ ।

यस पटक प्रतियोगिताको पुरस्कार राशि वृद्धि गर्ने निर्णय पनि भएको छ । तर, कति वृद्धि गर्ने भन्ने टुंगो भई नसकेको  आयोजकले जनाएका छन् । यसअघि विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार दिइदै आएको  थियो ।धनकुटाको प्रतिष्ठित  मानिने रारा गोल्डकप २०५८ सालबाट सञ्चालन गर्न थालिएको थियो ।

Untitled-2 (7) 64रारा फुटबल क्लबको नयाँ समिति

यसैबीच, आइतबार सम्पन्न साधारण सभाले अध्यक्ष मणि चेम्जोङलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै रारा फुटबल क्लबको १३ सदस्यीय नयाँ समिति गठन  गरेको छ। 

समितिको उपाध्यक्षमा देवीबहादुर राई र राजेश निरौला, सचिवमा जीवन कटुवाल, सहसचिवमा डेकेन्द्र थापा र कोषाध्यक्षमा परमाया राई चयन भएका छन् ।