एजेन्सी — अमेरिकामा शल्य चिकित्सकहरुले जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेका हुन् ।
डाक्टरहरूले बिरामीमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेर चिकित्साको इतिहासमा ठूलो क्रान्ति गरेका छन् । यसले विश्वका करोडौं मिर्गौला रोगीहरूमा आशाको किरण जगाएको छ ।
जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात मृत्यु भएका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।
यो पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र बिरामी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालको दावी छ ।




















