सुनसरी —  भैँसी पालन गर्दै आएका किसानहरू अन्य पशुपालनतर्फ आकर्षित  हुन थालेपछि भैँसी पालक किसानहरूलाई  प्रोत्साहन गर्न सुनसरीको इटहरीमा भैँसी  प्रतियोगिता आयोजना गरिएको छ ।

  भैँसी पालक किसानहरू घट्दै गएपछि इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्थाले भैँसी पालनतर्फ आकर्षित गर्न  प्रतियोगिता आयोजना गरेको हो । दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा मोरङ र सुनसरीका  ३० जना किसानका ५० वटा भैँसी लाई  सहभागी  गराइएको थियो ।

प्रतियोगितामा इटहरी ३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । यस्तै, सुन्दरहरैचा ५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ । प्रतियोगिताका विजेता भैँसी धनी किसानहरूलाई नगदसहित प्रमाण पत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिए ।

यसैगरी सुन्दरहरैँचा ५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव राजन धमलाले जानकारी दिए । प्रतियोगिताका निर्णयकमा भेटनरी अस्पताल सुनसरीका प्रमुख कुमार सिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख डा. दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एणमणि नेपाल रहेका थिए । भैँसीको स्वास्थ्य, रुप, जिउडाल, जात, दुधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णयक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।

 पछिल्लो समय किसानले भैसी पाल्न छाडेकाले यसको महत्व बुझाउन प्रतियोगता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए । भैँसी पालक किसानहरूलाई प्रोत्साहन गर्न वर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए ।