इटहरी - इटहरी उपमहानगरपालिकाले खोला तथा  पैनी लगायत सार्वजनिक स्थल मिचेर बनाएका अवैध संरचना भत्काउन सुरु गरेको छ । 

बर्सेनि बाढीले इटहरी बजार डुवान हुने तथा मानवीय क्षति हुने क्रम बढेको कारण उपमहानगरले अतिक्रमित क्षेत्रमा डोजर चलाउन सुरु गरेको हो ।

 इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट मंगलबारदेखि खोलामा डोजर चलाउन सुरु गरिएको मेयर हेमकर्ण पौडेलले बताए ।  पटकपटक सूचना जारी गर्दा पनि नभत्काएपछि क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजरसहित खोला पैनी पुगेका छन् । आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउन उपमहानगरले अवैध संरचना हटाउन सुरु गरेको मेयर पौडेलले बताए  ।Tyangra

टेंग्रा खोला, खेती खोला र सुकुम्बारी पैनीको ६/६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन थालिएको उपमहानगरले जनाएको छ । खोला किनारका कति घर वा संरचना भत्काइन्छ भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।

ती खोलामा आउने बाढीबाट इटहरीका ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित हुने गरेका छन् । २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष पनि बाढीले ४ जनाको मृत्यु भएको थियो।