पोखरा — नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। पार्टीको एघारौँ जिल्ला अधिवेशनमा भएको मतदानमा अधिकारी निर्वाचित भएका हुन्। उनले ५५१ मत ल्याएका छन्। अर्का प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याएको एमाले कास्कीले जनाएको छ।

अध्यक्षमा अधिकारी,  बास्तोला र विवेक त्रिपाठी प्रतिस्पर्धामा थिए। अधिकारी यसअघि पार्टीका जिल्ला सचिव थिए।  त्यस्तै उपाध्यक्षमा भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी भएका हुन् ।

शनिबारदेखि सुरु भएको अधिवेशनको मंगलबार रातिमात्र विद्युतीय माध्यमबाट मतदान भएको हो। निर्वाचनमा ९१४ मत खसेको थियो।पृथ्वीसुब्बा र खगराज समूहले प्यानल बनाएर निर्वाचनमा गएका थिए ।

बैनबहादुर एमाले केन्द्रीय सदस्य खगराज अधिकारी निकटका हुन् भने बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट हुन्।