विराटचोक — मोरङको केराबारी ६ र ७ का स्थानीय युवाहरुले मुगु खोला उत्खननमा रोक लगाएका छन् । केराबारी गाउँपालिकाले खोला ठेक्का लगाए बमोजिम बुधबारदेखि उत्खनन शुरु गरिएकोमा भूक्षय, बाढी-पहिरो रोकथाम र नियन्त्रणका लागि कुनै काम नगरेको भन्दै वडाका युवाहरुले उत्खननमा रोक लगाएका हुन् ।
मुगु खोलाको उत्तरतर्फ ढुंगा गिटी बालुवा वस्तीको सतहभन्दा अग्लो सतहसम्म डिपोजिट भएक कारण वस्ती जोखिममा परेको कारण देखाउँदै केराबारी गाउँपालिकाले मुगु खोला ठेक्का लगाएको थियो । १ करोड २० लाखमा विराटनगरको एक कम्पनीले सो खोला ठेक्का पाएको छ ।
केराबारी ६ र ७ को सिमानामा रहेको मुगु खोलामा वर्षेनी उत्खनन गरेपनि खोलाको पैसा खोलाको संरक्षण गर्नुभन्दा अन्यत्र खर्च हुने र उत्कननका कारण जनताले सास्ती खेप्नु परेकोले उत्खननमा रोक लगाइएको स्थानीय युवा कपिल लिम्बूले बताए ।
वर्षौदेखि खोला उत्खनन गरेपनि खोला संरक्षणमा खासै लगानी नगरेकोले वस्ती भन्दा वढी डिपोजिट भएको खोलानन्य पदार्थ त्यही खोला किनारमा डिपोजित गर्ने र जाली तटबन्ध लगाउन सहमति भएमात्र उत्खनन गर्न सहमति दिने स्थानीय युवाहरुले वताएका छन्
खोला उत्खनन रोक लगाएपछि पालिकाका प्रवक्ता नारायण भूजेल र पालिका अध्यक्ष सुमन मगर मिरिंगचिंग समेत स्थलगत निरिक्षणमा पुगी खोला ठेक्का लागेको क्षेत्रमा उत्खननमा रोक नलगाउन आग्रह गरेका थिए । तर कुनै सहमति भएको छैन ।




















